बैतडी –बैतडीको पुर्चाैडी नगरपालिका– ५ दहतालमा आयुर्वेद औषधालय सञ्चालनमा आएको छ । बिहीबारबाट पुर्चाैडी नगरपालिकाको दहतालमा आयुर्वेद औषधालय सञ्चालनमा आएको हो ।
विभिन्न रोगहरुको उपचारमा आयुर्वेदिक औषधि दिने, थेरापी लगायतका सेवा दिने गरेर आयुर्वेद औषधालय सञ्चालनमा आएको दहताल आयुर्वेद औषधालयका वैद्य गौराकुमारी बोहराले जानकारी दिइन् ।
पुर्चौंडी नगरपालिका वडा नं ४,५ र ६ का नागरिकलाई आयुर्वेदिक स्वास्थ्य सेवा दिने उद्देश्यले औषधालय सञ्चालनमा ल्याइएको पुर्चौंडी नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा आयुर्वेद उपचारमा पद्दतिमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधिहरुमा प्रतिअसर नहुने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको हो ।
बिहीबार एक कार्यक्रमको आयोजना गरेर पुर्चौंडी नगरपालिकाकी उपप्रमुख मीना धानुकले आयुर्वेद औषधालयको उद्दघाटन गरेकी हुन् । उक्त कार्यक्रममा पुर्चौंडी नगरपालिकाका कर्मचारी, स्थानीयबासिन्दा लगायतको सहभागिता रहेको थियो ।