कैलाली –कोशी प्रदेशबाट आफ्नो समूहको भेटघाट तथा भेला शुरु गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शुक्रबार धनगढीमा पुगेर दिनभर सुदूरपश्चिमका नौ वटै जिल्लाका आफू पक्षधर नेताहरूसँग छलफल तथा भेटघाट गरेका छन् ।
जिल्ला–जिल्लाबाट आएका नेता कार्यकर्ताहरूलाई पालैपालो गरी भेटघाट गरिरहेका कोइरालाले कार्यकर्ताहरूलाई आफूले सभापतिमा उम्मेदवारी दिने संकेत गर्दै कार्यकर्ताहरूलाई १५औं महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिइरहेका कोइराला पक्षधर बैतडीका नेता भुवन क्षेत्रीले बताए ।
शनिबार हुने नेपाल प्रजातन्त्रिक सेनानी संघ सुदूरपश्चिमको पहिलो अधिवेशनको कार्यक्रमको अवसर पारेर धनगढी आइपुगेका वरिष्ठ नेता कोइरालाले शुक्रबार दिनभर नौवटै जिल्लाबाट आएका कार्यक्रर्ताहरूलाई भेटघाट गरेका छन् । भेटघाटका लागि नेता कोइरालासंगै सुनिल शर्मा, सञ्जय गौतम, हृदयराम थानीलगायत नेताहरु पनि धनगढी पुगेका छन् ।
जिल्ला र स्थानीय तहका नेता र कार्यकर्ताहरुसंग नेता कोइरालाले भेटघाट गरेको क्षेत्रीले बताए । महाधिवेशनकै तयारी र पार्टीलाई बलियो बनाउने लक्ष्य लिएर भेटघाट गरिएको उनले बताए ।