बैतडी –बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट क्षति वा हताहत भएकोबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
भूकम्पले केही घरमा क्षति पुगेको आशङ्का गरिएको छ । वडाध्यक्ष गौरी सार्कीले मानवीय क्षति नभएको तर केही घरमा क्षति भएको हुन सक्ने जानकारी दिए । भौतिक क्षति के कति भयो भन्नेबारे जानकारी सङ्कलनको काम भइरहेको उनको भनाइ छ ।
केही दिन पहिला बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । पछिल्लो समयमा सुदूरपश्चिम र कर्णालीमा लगातार रुपमा भूकम्पको धक्का महसुस भइरहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमल्सिनाले बताए । पश्चिम क्षेत्रमा जमीन भित्र शक्ति सञ्चय भइरहेको कुरा यसले संकेत गरेको उनले बताए ।
नेपालको पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले ठूलो भूकम्पको जोखिम कायमै रहेको उनले बताए ।