बैतडी –बाजुरमा आज बिहान गएको भूकम्पका कारण एक सय पचास बढी घरमा क्षति पुगेको छ ।
बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा महसुस गरिएको थियो ।
उक्त भूकम्पका कारण जगन्नाथ गाउँपालिका वडा नं ५ का एक सय पचास बढी घरमा क्षति पुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । मानवीय क्षति नभएपनि एक सय पचास घरमा बस्न नमिल्ने गरी क्षति भएको उनले बताए । ती घरहरुमा चीरा परेर बस्न नमिल्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।
भूकम्पबाट प्रभावित क्षेत्र सदरमुकामबाट टाढा भएकाले एकीन विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए । प्रभावित परिवारहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए ।
पछिल्लो समयमा सुदूरपश्चिम र कर्णालीमा लगातार रुपमा भूकम्पको धक्का महसुस भइरहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सिनाले बताए । पश्चिम क्षेत्रमा जमीन भित्र शक्ति सञ्चय भइरहेको कुरा यसले संकेत गरेको उनले बताए । नेपालको पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले ठूलो भूकम्पको जोखिम कायमै रहेको उनले बताए ।