बैतडी–बैतडीमा माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर मापन गर्ने विज्ञहरुको टोली विद्यालयहरुमा परिचालन भएको छ ।
जिल्ला सदरमुकाममा केही दिन पहिला प्रधानाध्यापक र सरोकारवालाहरुसंग अन्तरक्रिया र छलफल गरेको टोली अब विद्यालयहरुमा खटिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।
एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गर्न २१ जनाको विज्ञ टोली खटिएको । उक्त टोलीमा शिक्षा क्षेत्रमा लामो समय काम गरेर सेवा निवृत्त सहसचिव, उपसचिव, तत्कालीन जिल्ला शिक्षा अधिकारी र विभिन्न क्याम्पसका प्राध्यापक सहभागी रहेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख अवस्थीले बताए ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यालयहरुको शैक्षिक गुणस्तर मापन गरिरहेको हो । टोलीले विद्यालयमै पुगेर विद्यालयहरुको समग्र अवस्थाका बारो अध्ययन गर्नेे शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हरिप्रसाद निरौलाले बताए । टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर छलफल गर्ने उनले बताए।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षण गरिरहेको केन्द्रका निर्देशक निरौलाले बताए ।
विद्यालयको बृहत् अनुगमनपछि ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्गीकरण हुने जनाइएको छ । शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य अनुरूप परीक्षण भइरहेकाले यसले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए ।
शैक्षिक गुणस्तर मापन केन्द्रले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर मापन गरिरहेकाले यसले शिक्षा क्षेत्रमा सुधार ल्याउने सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बल्देव नाथले बताए ।