दार्चुला –दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माण गर्नका लागि भारतीय एक्साभेटर नेपाली भूमीमा प्रवेश गरेपछि विवाद भएको छ ।
आइतबार बिहान तटबन्ध निर्माणका लागि काम गरिरहेको एक्साभेटर नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयबासिन्दाहरु आक्रोशित भएका थिए ।
भारतीय पक्षले महाकाली नदीमा तटबन्ध निर्माणको काम गरिरहेको छ । उसले नेपाली भूभागलाई क्षति पुर्याउने गरेर तटबन्ध निर्माण र नदी डाइभर्सन गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
तर श्रीबगर क्षेत्रमा नेपाली पक्षलाई तटबन्ध निर्माणको काममा भारतले अवरोध गर्दै आएको छ ।
आइतबार स्काभेटर नै नेपाली क्षेत्रमा प्रवेश गरेपछि केही समय तनाव समेत सिर्जना भएको थियो । स्काभेटर नेपाली क्षेत्रमा प्रवेश गर्ने बित्तिकै नेपाल प्रहरीले चालक र स्काभेटरलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।
सोधपुछ गर्दा भुलबस नेपाली क्षेत्रमा स्काभेटर ल्याएको चालकले बताएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । यो बिषयमा भारतीय पक्षसंग समन्वय गरेर दिउँसो ४ बजेतिर स्काभेटर र चालकलाई भारततर्फ पठाएको उनले बताए ।
दार्चुलाका स्थानीयहरुले भने भारतीय पक्षले नेपाली क्षेत्रमा आफूखुसी स्काभेटर ल्याएको आरोप लगाएका छन् । सीमा क्षेत्रामा अतिक्रमण हुँदा समेत सरकार मूकदर्शक बनेको उनीहरुको आरोप रहेको छ ।