कैलाली –कैलालीको धनगढीमा बसेको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठकले तीनवटा निर्णय गरेको छ ।
सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेस र नेकपा एमाले समेटेर गठन गरिएको संयन्त्रको बैठकले तीनवटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउन यथाशीघ्र गतिविधि अगाडि बढाउने, रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमति जुटाएर कार्यान्वयन गर्ने र भूकम्प प्रभावितलाई राहत तथा पुनर्स्थापनाका कार्यक्रम अगाडि बढाउने निर्णय भएको छ ।
बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितलाई विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापनाका कार्यक्रम लागू गरिनेछ । बैठक नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर, एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशी, कांग्रेसका उपसभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह, र एमालेका संसदीय दलका नेता राजेन्द्र रावल सदस्यका रूपमा सहभागी थिए । बैठकले संयन्त्रको अध्यक्षता आलोपालो प्रणालीमा गरिने सहमति समेत गरेको छ ।