बैतडी - पछिल्लो एक महिनामा देश छोड्ने नेपालीहरुको सङ्ख्याले नयाँ कीर्तिमान कायम गरेको छ । देश छोड्ने नेपालीहरुको सङ्ख्याले नयाँ कीर्तिमान कायम गरे संगै देश छोड्नेको संख्यामा रेकर्ड ब्रेक भएको छ । नेपालमा केही गर्ने वातावरण र अवसर नभएको भन्दै विदेशिने हरुको संख्या वर्षेनी बढिरहेको बेला मंसिर महिनामा हालसम्मकै धेरै नेपालीहरु विदेशिएका छन ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै ८४ हजार २ सय २६ जना नेपालीहरुले देश छोड्न अनुमति लिएका छन । यस अघि २०७९ कार्तिकमा सबैभन्दा धेरै नेपालीहरुले देश छोडेका थिए । त्यसबेला नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७८ हजार ३ सय ७० रहेको थियो । जुन चालू आर्थिक वर्षको मंसिर महिनाको भन्दा ६ हजारले कम हो । विभागको तथ्यांक अनुसार मंसिर महिनामा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जान २८ हजार ८ सय ६८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन ।
त्यस्तै बिदामा आएर पुन : फर्किनका लागि ४१ हजार ३ सय २० जनाले श्रम स्वीकृति लिएका छन । साथै व्याक्तिगत भिसा आएपछि अन्तिम श्रम स्वीकृति लिनेको संख्या १३ हजार ५९ छ भने जीटूजीमार्फत ९ सय ७९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन । मंसिर महिनामा रोजगारीका लागि विदेश जानेहरुमा अधिकांश खाडी मुलुक गएको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै नेपालीहरु रोजगारीका लागि यूएई गएका छन ।