बैतडी–चट्याङ लागेर बैतडीमा एकै वडामा सात पशुचौपाया मरेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका –६ धुलिधार र खर्काधार टोलमा चट्याङले क्षति पुर्याएको हो । शनिबार दिउँसो २ बजेतिर परेको चट्याङले स्थानीयहरुले पालेका घरपालुवा पशुचौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
विद्युतको लाइनमा परेको चट्याङले क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । चट्याङ लागेर सुर्नया गाउँपालिका–६ खर्काधारका प्रकाश अवस्थीको एक भैंंसी मरेको छ भने धुलिधारमा ६ ओटा पशुचौपाया मरेका छन् ।
धुलिधारमा स्थानीय पदमराज अवस्थीको एक बाख्रो र एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु, हरिदत्त अवस्थीको एक बाख्रो, लिलाधर अवस्थीको एक बाख्रो र दामोदर अवस्थीको एक राँगो मरेको प्रवक्ता पाण्डेयले बताए ।
घरपालुवा पशुचौपाया मरेपछि किसानहरुलाई हजारौं रुपैयाँको क्षति भएको छ ।
यस्तै चट्याङले अधिकांश घरको वाइरिङ नष्ट गर्नुका साथै विद्युत मिटर समेत जलाएको वडा अध्यक्ष मदनराज अवस्थीले बताए । चट्याङले दुई टोलमा धेरै क्षति पुर्याएको उनले बताए ।
चट्याङले जमीनमा समेत धाजा फाटेको स्थानीय धर्मानन्द अवस्थीले बताए । चट्याङका कारण स्थानीयहरु त्रसित समेत बनेका थिए ।
चट्याङबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनका लागि पहल गरिने वडा अध्यक्ष अवस्थीले बताए ।
यस्तै शनिबार बिहान चट्याङ लागेर घाइते भएका शिवनाथ–२ पोखराका चारजना उपचारपछि घर फर्किएका छन् । शनिबार बिहान ११ बजेतिर स्थानीय गोपाल दमाईको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५ बर्षीया पवानी दमाइ, बुहारी २० बर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका थिए ।
घाइते सबै पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचार गराएर घर फर्केका प्रहरी निरीक्षक पाण्डेयले बताए ।