बैतडी–बैतडीमा निस्सासिएर एकजनाको मृत्यु भएको छ ।
पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका कैलालीको कैलारी गाउँपालिका–६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान सम्म नउठेपछि उनलाई अचेत अवस्थामा फेला पारिएको थियो । उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएका थारुलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक थारुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमै राखिएको छ । मृतकका आफन्त कैलालीबाट आउन लागेकाले उनीहरु आएपछि मात्रै पोष्टमार्टम कार्य अघि बढ्ने प्रहरी निरीक्षक पाण्डेयले बताए ।
कोइला बालेर सुतेको हुनाले थारुको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
यसअघि गएको मंसिर २१ गते जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निस्सासिएर मृत्यु भएको थियो । कोइला बालेर कोठामा सुतेका सुर्नया गाउँपालिका–५ धुलिधारका १४ बर्षीय अपिल बिष्टको मृत्यु भएको थियो ।
चिसोको समयमा न्यानोका लागि कोइला,हिटर लगायतका वस्तुहरु बालेर सुत्ने गर्दा निस्सासिएर मृत्यु हुने भएकाले यो तर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह समेत गरेको छ । हावा नछिर्ने खालको कोठामा यस्ता वस्तुहरु बालेर सुत्दा मानिस बेहोस भइ मृत्यु समेत भइरहेकाले सुत्ने बेला कोइला, हिटर लगायतका वस्तुहरु निभाएर मात्रै सुत्न प्रहरीले आग्रह गरेको हो ।