Sagun Khabar
दशरथचन्द माविको बार्षिकोत्सव : उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, शिक्षक र अभिभावकलाई सम्मान 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीको ६८ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रमुख अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १ करोड ५५ लाख ३ हजार ७०१ रुपैयाँ बराबरको आयव्यय विवरण सार्वजनिक गरे । 

Atrya hospital

२०१३ साल पौष १५ गते स्थापना भएको विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै शिक्षाको ज्योती फैलाइरहेको प्रधानाध्यापक चन्दले बताए । 

बार्षिकोत्सवको अवसरमा छलिया नृत्यसहितका विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका प्रधानाध्यापक चन्दले बताए । 

छात्रवृति कोषबाट छात्रवृति प्रदान 

दशरथचन्द मावि सुन्दरखालीले बार्षिकोत्सवको अवसरमा विभिन्न छात्रवृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । 

पदमराज भट्ट स्मृति शैक्षिक छात्रवृति विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने ८ जनालाई वितरण गरिएको छ । जेहेन्दार, अनुशासित, लगनशील विद्यार्थी छनौट गरेर जनही १ हजार ५ सयका दरले छात्रवृृति वितरण गरिएको प्रधानाध्यापक चन्दले बताए । 

यस्तै मेनेजर तेजबहादुर चन्द स्मृति छात्रवृति कक्षा ११ र १२ मा अध्ययनरत ८ जनालाई २ हजारका दरले प्रदान गरिएको छ । 

यस्तै प्रेमसिंह रावल र कलावतीदेवी रावल स्मृति छात्रवृति एकजनालाई वितरण गरिएको । उक्त छात्रवृतिको राशी ५ हजार रहेको छ । 

कक्षा ९ मा छनौट गरिएको एकजनालाई कक्षा १२ सम्म उक्त छात्रवृति प्रदान गर्ने गरिएको प्रधानाध्यापक चन्दले बताए । उक्त छात्रवृति कक्षा ११ छात्रा रिता चन्दलाई प्रदान गरिएको छ । 

यस्तै दशरथचन्द नगरपालिका वडा नं –५ को कार्यालयले गतबर्षदेखि प्रदान गर्दैै आएको छात्रवृति १२ जनालाई प्रदान गरिएको छ । कक्षा १ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई १ हजारका दरले छात्रवृति प्रदान गरिएको छ । विद्यार्थीहरुको हौसला बढाउन वडाले शैक्षिक छात्रवृति दिने गरेको वडा अध्यक्ष केशवराज लेखकले बताए ।

यस्तै स्वर्गीय तारासिंह रावल स्मृति शैक्षिक छात्रवृति ५ जनालाई २ हजारका दरले वितरण गरिएको छ । उक्त छात्रवृति कक्षा ११ र १२ मा अध्ययनरत जेहेन्दार एक÷एक जना विद्यार्थीलाई प्रदान गरिएको छ । यस्तै एकजना दलित छात्रासहित ३ जना दलित विद्यार्थीहरुलाई उक्त छात्रवृति प्रदान गरिएको प्रधानाध्यापक चन्दले बताए । 

यस्तै स्वर्गीय नारायणदत्त भट्ट र जयमतीदेवी भट्ट स्मृति छात्रवृति कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ५ जनालाई १ हजार ५५ रुपैयाँका दरले प्रदान गरिएको छ । 

यस्तै विद्यालयले कक्षा १२ र एसईईमा ३ जीपीएभन्दा माथि ग्रेड पोइन्ट ल्याउने ७ जना विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । कक्षा १२ उत्तीर्ण गरेका तीन जना र नगरपालिकाभरी एसईईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी पंकज भट्टलाई १ हजार दरले पुरस्कार प्रदान गरिएको छ । यस्तै एसईईमा ३ जीपीए भन्दा माथि अंक ल्याउने अन्य तीनजनालाई ५ सयका दरले पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । 

चार जना शिक्षक सम्मानित 
दशरथचन्द मावि सुन्दरखालीले आफ्नो बार्षिकोत्सवको अवसरमा चार जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । शिक्षण क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको प्रधानाध्यापक चन्दले बताए । 

सम्मानित हुने शिक्षक टेकबहादुर चन्द, अञ्जु चन्द, ईश्वरी बडू र विद्यालयका लेखापाल रामसिंह रावल रहेका छन् । 

विद्यालयको बार्षिकोत्सवको अवसरमा अभिभावकहरुलाई समेत सम्मान गरिएको छ । विद्यालयको सर्वाङ्गीण विकासका लागि सहयोग गर्ने अभिभावकहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । आधारभूत तह बालविकास देखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकामध्ये सरसफाइ र उपस्थितीमा उत्कृष्ट रहेका बालबालिकाहरुका अभिभावकहरुलाई विद्यालयले सम्मान गरेको हो ।  यस्तै एसइई र कक्षा १२ मा ३ जीपीए भन्दा माथि अंक ल्याएका विद्यार्थीका अभिभावकहरुलाई विद्यालयकातर्फबाट सम्मान गरिएको प्रधानाध्यापक चन्दले बताए ।

बार्षिकोत्सवमा छलिया नाचको आकर्षण 
दशरथचन्द माविको बार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत छात्रहरुले प्रदर्शन गरेको छलिया नाच निकै आकर्षणको रुपमा रहेको थियो । उक्त विद्यालयमा अध्ययनरत छात्रहरु साजन दमाई र साहिल दमाइले छलिया नाच प्रस्तुत गरेका थिए भने विशाल दमाई,साहिल दमाई, पवन दमाई, दिपेश दमाई र डम्मर लुहारले बाजा बजाएर सहयोग गरेका थिए । 

परम्परागत पोशाकमा सजिएका छलिया नृत्यकारहरुले संस्कृतिक संरक्षणका लागि महत्वपूर्ण योगदान पुर्याएको पूर्वमुख्यमन्त्री रावलले बताए । औपचारिक शिक्षाका साथसाथै संस्कृति संरक्षणमा विद्यार्थीहरुको सहभागिता निकै अर्थपूर्ण र महत्वपूर्ण रहेको उनले बताए । 

छलिया नाच मौलिक संस्कृति रहेको बताउँदै उनले विद्यार्थीहरुको यो कार्यबाट आफू निकै प्रभावित भएको बताए । 

विद्यार्थीहरुले आफ्नै बलबूतामा छलिया नाच प्रस्तुत गरेका र बाजागाजा समेत घरबाटै ल्याएका विद्यालयका प्रधानाध्यापक चन्दले बताए ।  

Chhaliya-1-1735569969.jpg


बार्षिकोत्सवको अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री रावलले शिक्षाको विकासका लागि आफूले सक्दो पहल गर्ने बताए । दशरथचन्द मावि संस्थापक परिवारको सदस्यको हैसियतले पनि यो विद्यालयको विकासमा आफूले सक्दो सहयोग गर्ने उनले बताए । 

यस्तै बार्षिकोत्सवको अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दले विद्यालयको बृहत्तर विकासमा लाग्ने बताइन् । आफू अध्यक्ष भएपछि विद्यालयको सबै पक्षमा सुधार गर्न पहल गरेको उनले बताइन् । 
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update