बैतडी –सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संस्कृतिक संरक्षणमा सबैले जुट्नुपर्ने बताएका छन् ।
दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द माविको ६८ औैं बार्षिकोत्सव समारोहमा बोल्दै पूर्व मुख्यमन्त्री रावलले संस्कृृतिक हस्तान्तरण र पुस्तान्तरण हुन नसके अस्तित्व नै मेटिने बताए । उनले भने, ‘संस्कृति सभ्यातको जननी हो । यसको संरक्षणमा सबैले जुट्नुपर्दछ ।’
सुदूरपश्चिम क्षेत्र सांस्कृतिक रुपमा निकै धनी भएको बताउँदै रावलले संस्कृतिको विस्तार र विकासमा युवा पुस्ताको ध्यान जानुपर्ने बताए ।
यस्तै अर्को प्रसंगमा पूर्व मुख्यमन्त्री रावलले शिक्षा र विकासको लागि राजनीति गर्न नहुने बताए । उनले भने,‘भौतिक विकास र शिक्षाको विकासका लागि राजनीतिक दलभन्दा माथि उठ्नुपर्छ । यो सबैको दायित्व भएकाले यसमा सकेको सबैले सहयोग गर्नुपर्छ ।’
दशरथचन्द माविलाई महिला नेतृत्वले अब्बल बनाएको बताउँदै पूर्व मुख्यमन्त्री रावलले महिलाले सही र असल काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत भएको बताए । दशरथचन्द माविमा आगामी शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा अध्यापनका लागि पहल गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे । उनले भने, ‘ म यो विद्यालय संस्थापक परिवारको सदस्य पनि हुँ । यो विद्यालयमा आगामी बर्षदेखि प्राविधिक शिक्षाको पठनपाठनका लागि मैले पहल गर्छु ।’
दशरथचन्द माविको बार्षिकोत्सवमा सहभागी हुन बैतडी पुगेका रावलले यो क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने समेत बताएका छन् ।