Sagun Khabar
छलिया नाच जोगाउँदै विद्यार्थी 

बैतडी–बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा प्रचलित रहेको छलिया नाच जोगाउन विद्यार्थीहरु सक्रिय देखिएका छन् । पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छलिया नाच जोगाउन विद्यार्थीहरु सक्रिय देखिएका हुन् । 

बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीमा अध्ययनरत विद्यार्थीहरु विभिन्न समारोहहरुमा छलिया नाच प्रदर्शन गर्दै आएका छन् । विद्यालयको बार्षिकोत्सवदेखि अन्य कार्यक्रमहरुमा विद्यार्थीहरुले छलिया नाच प्रदर्शन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । 

विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीहरुले समूह बनाएर छलिया नाच प्रदर्शन गर्ने गरेको उनले बताए । 

Atrya hospital

विभिन्न मांगलिक कार्यमा प्रदर्शन गरिने बाजागाजासहितको छलिया नाच लोप हुँदै गएका बेला विद्यार्थीहरुले गरेको प्रयास निकै सराहनीय रहेको उनले बताए । उनले भने,‘हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले समूह बनाएर छलिया नाच प्रदर्शन गर्ने गरेका छन् । यसले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुगेको छ ।’

विवाह, ब्रतबन्ध र अन्य मांगलिक कार्यहरुमा प्रदर्शन गरिने छलिया नाच पछिल्लो समयमा कम भइरहेको छ । बाजागाजासहित प्रस्तुत गरिने छलिया नाचको प्रवद्र्धनमा विद्यार्थीहरु लागि परेका हुन् । 

छलिया नाचका लागि आवश्यक पोशाक र बाजागाजाहरु विद्यार्थीहरुले आफ्नै घरबाट जोहो गरेको प्रधानाध्यापक चन्दले बताए । 

छलिया नृत्यमा कक्षा १२ मा अध्ययनरत साजन दमाई र साहिल दमाई सहभागी हुँदै आएका छन् भने बाजा बजाउनेतर्फ कक्षा ७ का विशाल दमाई, कक्षा ९ का साहिल दमाई, कक्षा १० का पवन दमाई,कक्षा ५ का दिपेश दमाई र कक्षा १२ का डम्मर लुहार सहभागी हुँदै आएका छन् । 

सोमबार दशरथचन्द माविको ६८ औं बार्षिकोत्सवमा विद्यार्थीहरुले प्रस्तुत गरेको छलिया नृत्य आकर्षणको रुपमा रहेको थियो । छलिया नृत्य अवलोकनपछि सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विद्यार्थीहरुले प्रर्दशन गरेको छलिया नाचले संस्कृति संरक्षणमा योगदान गरेको बताए । उनले भने, ‘विद्यार्थीहरुे गरेको प्रयासबाट म निकै प्रभावित भएको छु । हाम्रो पढाई भनेकै यस्तै कुराहरुमा हुनुपर्दछ ।यो हाम्रो इतिहास बोकेको चीज हो । त्यसैले यसको संरक्षणमा सबैले लाग्नुपर्दछ ।’

बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित नेपाल राष्ट्रिय मावि पालीका विद्यार्थीहरु समेत छलिया नाच संरक्षणमा सहभागी रहेका विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बोहराले बताए । विभिन्न समारोहमा विद्यार्थीहरुले छलिया नाच प्रस्तुत गर्ने गरेको उनले बताए । 

छलिया नाच सांस्कृतिक नाच भएकाले यसलाई संरक्षण गर्नुपर्नेमा पूर्व मुख्यमन्त्री रावलले जोड दिए । उनले भने,‘हाम्रो संस्कृति, परम्परा बचेमात्रै हाम्रो अस्तित्व बाँकी रहन्छ । त्यसैले पुरानो संस्कृति नयाँ पुस्ताले अनुसरण गर्नु अतिआवश्यक छ ।’
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update