बैतडी–बैतडीको प्रसिद्ध रौलाकेदार जोड्ने पर्यटकीय सडक निर्माण कार्य शुरु गरिएको छ । सुर्नया गाउँपालिका–५ स्थित रौलाकेदार मन्दिरको भण्डार घर हुँदै रौलाकेदार धाम जोड्ने उद्देश्यसहित स्थानीयहरुको सहभागिता र सक्रियतामा सडक निर्माण कार्य शुरु भएको रौलेश्वर माविका प्रधानाध्यापक गोपालसिंह मडैले जानकारी दिए ।
चौपाडी–भण्डारघर–रौलाकेदार पर्यटन सडक नाम दिएर निर्माण कार्य भइरहेको मडैले बताए । स्थानीयहरुले चन्दा संकलन गर्नुका साथै पछि फिर्ता दिने गरेर सडक निर्माणका लागि रकम जुटाएको उनले बताए ।
अहिले ६ लाख रुपैयाँ संकलन गरेर काम अघि बढेको सडक निर्माण समितिका अध्यक्ष डम्मरसिंह महराले बताए ।
रौलाकेदार धाम पुग्ने मुख्य बाटो भएकाले यसलाई निर्माण गर्नुपर्ने देखिएको महराले बताए । तर उक्त सडकमा अहिलेसम्म कुनै पनि सरकारी निकायबाट बजेट विनियोजन नभएकाले सहयोगका लागि सबैसंग आग्रह गरिएको महराले बताए ।
रौलाकेदार धाममा जात्रा जाने मुख्य बाटो यही भएकाले ट्रयाक खोल्ने काम भइरहेको र तिनै तहका सरकारसंग सडक निर्माणमा चासो दिन आग्रह गरिएको प्रधानाध्यापक मडैले बताए । उनले भने,‘यो क्षेत्रको मुख्य धार्मिक पर्यटकीय स्थल रौलाकेदार जोड्नका लागि हामीले स्थानीयस्तरमा सडक निर्माण कार्यलाई अघि बढाएका छौं । यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’
यो सडक निर्माण भएमा रौलाकेदार धाम पुग्ने धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । धार्मिक पर्यटनलाई अर्थतन्त्रसंग जोड्न सकेमात्रै यो क्षेत्रको विकास हुने प्रधानाध्यापक मडैको भनाइ छ ।
यो सडकको अहिलेसम्म ३ किलोमिटर जति ट्रयाक खोलिसकिएको मडैले बताए ।