बैतडी–बैतडीबाट १६ लाख रुपैयाँ बढीको भन्सार छलेर ल्याएको बिँडी बरामद गरिएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान दोगडकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका –६ बाट भन्सार छलीको बिँडी बरामद गरेको हो ।
दोगडाकेदार गाउँपालिका–४ लट्क्वालीमा से १ ज ८४४ नम्बरको बोलेरो जिप चेकजाँच गर्ने क्रममा ८ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिँडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जिपमा भन्सार छलीको बिँडी फेला परेपछि जिप चालक २६ बर्षीय सुरज ठगुन्नासहित जिपलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको उनले बताए ।
यस्तै सुर्नया गाउँपालिका–६ रीगामा से १ ज २४१ नम्बरको बोलेर जिप चेकजाँच गर्ने क्रममा उक्त जिपबाट ८ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिँडी बरामद गरिएको छ । सुर्नया गाउँपालिका –२ का २१ बर्षीय जिप चालक हरिश बिष्टसहित जिपलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
बैतडीमा एकै दिन १६ लाख ३२ हजार रुपैयाँ बराबरको भन्सार छलेर ल्याएको बिँडी बरामद गरिएको हो ।