बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ कठपते क्षेत्रमा नेपाली सेनाको फाइरिङ्ग अभ्यास सञ्चालन हुने भएको छ ।
भोलि(बुधबार)देखि उक्त क्षेत्रमा विभिन्न सैनिक अभ्याससहित फाइरिङ्ग अभ्यास समेत सञ्चालन हुने बैतडीस्थित नेपाली सेनाको श्रीबक्स गुल्मका गुल्मपति,सेनानी मधुसुदन केसीले जानकारी दिए ।
यही पौष २२ गतेसम्म उक्त क्षेत्रमा फाइरिङ्गसहितका सैनिक अभ्यासहरु सञ्चालन हुने भएकाले वनजंगल क्षेत्रमा घाँस–दाउरा, पशुचौपाया चरिचरन लगायतका कार्यका लागि नजान आग्रह गरिएको सेनानी केसीले बताए ।
कठपतेको फाइरिङ्ग रेञ्ज इलाकामा नेपाली सेनाका सकल दर्जाहरुको अभ्यास हुने भएकाले दिउँसो तथा रातिको समयमा उक्त क्षेत्रमा नजान स्थानीयबासिन्दाहरुलाई आग्रह गरिएको छ ।
फाइरिङ्ग अभ्यास सञ्चालन हुने बिषयमा नगरपालिका, वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय र सामुदायिक वन उपभोक्ता समितिलाई समेत जानकारी गराइसकिएको सेनानी केसीले बताए । अभ्यासको क्रममा फाइरिङ्ग समेत गर्नुपर्ने भएकाले कुनैपनि अप्रिय घटना नहोस भनेर अभ्यास अवधिभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको हो ।