बैतडी–हिउँदे फलफूल रोप्ने समय शुरु भएपछि बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले हिउँदे फलफूलका बिरुवाको मूल्य तोकेको छ ।
विभिन्न जातका हिउँदे फलफूलका बिरुवा सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा उपलब्ध रहेका र ती बिरुवाहरुको मूल्य तोकिएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका सूचना अधिकारी चन्द्रबहादुर ठगुन्नाले बताए ।
सुख्खा फलफूल विकास केन्द्रबाट स्याउ कलमी प्रतिबोट ७० रुपैयाँमा उपलब्ध गराइनेछ भने ड्वार्फ स्याउ कलमी प्रतिबोट २ सय रुपैयाँ तोकिएको छ ।
यस्तै नासपाती कलमी प्रतिबोट ७० रुपैयाँ,आरु कलमी प्रतिबोट ५० रुपैयाँ, आरुबखडा कलमी प्रतिबोट ५० रुपैयाँ, खुर्पानी कलमी प्रतिबोट ५० रुपैयाँ, ओखर कलमी प्रतिबोट ३ सय रुपैयाँ, ओखर बिजु प्रतिबोट ४० रुपैयाँ,कागती बदाम कलमी प्रतिबोट ६० रुपैयाँ र कटुस बिजु प्रतिबोट ४० रुपैयाँ मूल्य तोकिएको सूचना अधिकारी ठगुन्नाले बताए ।
सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा विभिन्न जातका हिउँदे फलफूलका ३९ हजार ३ सय ९० बिरुवा विक्रि योग्य रहेका सुख्खा फलफूल विकास केन्द्रका कम्प्युटर अपरेटर गणेशदत्त भट्टले बताए ।
यस्तै बैतडीका विभिन्न स्थानमा रहेका निजी नर्सरीहरुमा ३ लाख ६४ हजार २ सय ७० ओटा विक्रि योग्य बिरुवा रहेका छन् । सुख्खा फलफूल विकास केन्द्रमा दर्ता भएका ३१ ओटा निजी नर्सरीहरुमा उक्त संख्यामा बिरुवा रहेका भट्टले बताए । सुख्खा फलफूल विकास केन्द्रमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका ३१ ओटा निजी नर्सरीमात्रै दर्ता भएका बताइएको छ ।
पुस महिनादेखि फागुनसम्म हिउँदे फलफूलका बिरुवा रोप्ने उपयुक्त समय भएकाले तयार पारिएको खाडलमा बिरुवा रोप्ने पर्नेमा कृषि प्राविधिकहरुले जोड दिएका छन् ।