बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीले विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, हिज्जे प्रतियोगिता लगायतका प्रतियोगितामा सहभागी भइ उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए ।
यस्तै विद्यालयमा नियमिति उपस्थित हुने, सरसफाइमा उत्कृष्ट स्थान प्राप्त गर्ने र अनुशासित विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको प्रधानाध्यापक चन्दले बताए । कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई आज पुरस्कार वितरण गरिएको हो ।
दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्द, विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्द,विद्यालयका शिक्षक लगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
पुस १५ गते विद्यालयको बार्षिकोत्सव समारोहमा पुरस्कार वितरण गर्ने कार्य बाँकी रहेकाले आज पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पार्वती चन्दको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द प्रमुख अतिथी रहेकी थिइन् ।
पुरस्कार वितरण समारोहमा बोल्दै उपप्रमुख चन्दले नगर क्षेत्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताइन् । विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा विद्यालयले थप प्रगति गर्ने आशा समेत व्यक्त गरिन् ।