Sagun Khabar
पार्वतीको नेतृत्वमा नमूना बन्दै दशरथचन्द मावि

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित  दशरथचन्द मावि सुन्दरखाली नमूना विद्यालय बन्ने बाटोमा अग्रसर भइरहेको छ । 

विद्यालयलाई नमूना बनाउने अभियानमा लागेकी छिन् विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्द । 

४१ बर्षीया चन्द सानैदेखि सामाजिक क्षेत्रमा क्रियाशील महिलाको रुपमा परिचित छिन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएपछि उनले विद्यालय सुधारको योजना बनाइरहेकी छिन् । 

Atrya hospital

२०७६ साल मंसिर २० गते पहिलो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेकी चन्दलाई अभिभावकहरुले दोश्रो कार्यकालका लागि पनि सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेका छन् । उनी २०७९ मंसिर २६ गते दोश्रो कार्यकालका लागि अध्यक्ष बनेकी हुन् । 

दशरथचन्द मावि सुन्दरखालीले पहिलो पटक महिला नेतृत्व पाएपछि आफ्नो जीवनमा काँचुली फेरिरहेको छ । विद्यालयको भौतिक व्यवस्थापनदेखि शैक्षिक गुणस्तरमा ध्यान दिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्दले बताइन् । उनले भनिन्,‘मैले यो विद्यालयको समग्र विकासका लागि आफूले सक्दो पहल गरेकी छु । अभिभावकहरुलाई सक्रिय बनाउन विद्यालयमा बोलाउने गरेकी छु । यसले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार पनि आएको छ ।’

पछिल्लो समयमा अभिभावकहरु विद्यालयप्रति सकारात्मक भएर विद्यालयमा आउने गरेका विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार परीक्षाको नतिजा प्रकाशन गर्ने बेला अभिभावकहरुलाई बोलाउने गरिएको उनले बताए । उनले भने,‘हामीले विद्यालयले सञ्चालन गरेका परीक्षाहरुको नतिजा प्रकाशन गर्दा अभिभावकहरुको भेला बोलाएर गर्ने गरेका छौं । यसले अभिभावकहरुलाई समेत आफ्ना बालबालिकाहरुको नतिजाका बिषयमा थाहा हुन्छ । थप सुधारका लागि उनीहरुले पनि प्रयत्न गरिरहेका छन् ।’

२०१३ साल पौष १५ गते स्थापना भएको विद्यालय पछिल्लो समयमा नमूना विद्यालय बन्ने बाटोमा अग्रसर भएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चन्द आएपछि विद्यालयले सुधारको बाटो पहिल्याएको उनको दाबी छ । 

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चन्दलाई सामुदायिक विद्यालयमार्फत शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय शिक्षा पुरस्कार समेत प्रदान गरिएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । ‘विद्यालय व्यवस्थापनको जिम्मा पाएपछि सरकारले प्रदान गरेको पुरस्कारले मलाई थप हौसला मिलेको छ । शहीद दशरथचन्दको नामबाट स्थापित यो विद्यालयको गरिमालाई अझै बढाउने योजना बनाएकी छु । विद्यालयको चौतर्फी विकासका लागि तिनै तहका सरकारसँग समन्वय गरिरहेकी छु ।’चन्दले भनिन्, ‘महिलाको नेतृत्वमा सामुदायिक विद्यालयहरु नमूना बन्न सक्छन् भन्ने उदाहरण दिने कोशिस गर्नेछु ।यसमा सबैको सहयोगको अपेक्षा गरेकी छु ।’

सामाजिक परिचालनको क्षेत्रमा क्रियाशील चन्दले आफू नेतृत्वमा आएपछि विद्यालयमा शैक्षिक प्रदर्शनी, समय–समयमा अभिभावकहरुको भेला, अभिभावकहरुलाई सम्मान लगायतका कार्यको शुरुवात गरेको बताइन् । 

महिलाको नेतृत्वमा विद्यालयले प्रगति गर्दै गएको सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बताए । यही पौष १५ गते बार्षिकोत्सवमा सहभागी भएका रावलले महिला नेतृत्व सफल हुन्छ भन्ने उदाहरण प्रस्तुत भएको दाबी गरे । उनले भने,‘महिलाको नेतृत्वमा यो विद्यालय नमूना बन्ने बाटोमा छ । महिला नेतृत्वलाई मेरोतर्फबाट स्यालुट छ । यसले महिलाहरु इमान्दारीपूर्वक काम गर्छन् भन्ने उदाहरण प्रस्तुत भएको छ ।’

वडासँगको सहकार्यमा छात्रवृति 

दशरथचन्द मावि सुन्दरखालीका कक्षा १ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीहरुले अहिले वडाबाट पुरस्कार स्वरुप छात्रवृति पाउँदै आएका छन् । १२ जनालाई प्रत्येक बर्ष जनही एक हजार छात्रवृति प्रदान गर्ने गरिएको छ । 

विद्यार्थीहरुलाई प्रोत्साहन गर्न वडासँग सहकार्य गरेर छात्रवृति दिँदै आएको अध्यक्ष चन्दले बताइन् । उनले भनिन्,‘वडा अध्यक्ष केशवराज लेखकसँग मैले छलफल गरेर शिक्षाको क्षेत्रमा वडाले गर्न सक्ने सहकार्यको बिषयमा छलफल गरेपछि छात्रवृति दिने निर्णय भएको छ । वडा अध्यक्षज्यूले पनि यसलाई सकारात्मक रुपमा लिएर सहयोग गर्नुभएको छ ।’

विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई हरेक क्षेत्रबाट सहयोग पुर्याउन पहल गरिररहेको अध्यक्ष चन्दले बताइन् । 

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना 

दशरथचन्द मावि सुन्दरखालीमा अबका दिनमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना रहेको अध्यक्ष चन्दले बताइन् । यसका लागि तिनै तहका सरकारसँग समन्वय भइरहेको उनले बताइन् । उनले भनिन्,‘हाम्रो विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि पहल गर्छु । यसमा सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।’

विद्यालयलाई प्रविधिमैत्री बनाउने र प्राविधिक शिक्षासँग जोड्ने विद्यालय व्यवस्थापनको योजना रहेको विद्यालयका प्रधानाध्यापक चन्दले बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update