डडेल्धुरा –डडेल्धुराको अजयमेरु गाउँपालिका–१ स्थित ऐतिहासिक कोला समैजी मन्दिरमा १२५ किलोग्रामको दमाह चढाइएको छ ।
आज पुइलेकबाट उक्त दाइन (दमाह)को पूजा गरी १२ गाउँका करिब ६८ जना सर्वसाधारणले बाजागाजा सहित मन्दिर पु¥याएका हुन् ।
सुदुरपश्चिममै पहिलो पटक ठूलो दाइन चढाइएको मन्दिरका पूजारी देवराज भट्टले बताए । दाइन (दमाह) मन्दिर परिसरमा राखेपछि सर्वसाधारण पनि खुशी भएका छन् ।
५ फिट ५ इन्च उचाइ र ४ फिट ६ इन्च चौडाइ भएको १२५ किलोग्रामको दाइन (दमाह) समाजसेवी भक्तबहादुर भण्डारीले चढाएका हुन् । धार्मिक तथा आन्तरिक पर्यटनमा प्रवद्र्धनमा सहयोग पुर्याउन दाइन दमाह चढाएको उनले बताए । हाल उनी अमेरिकामा बसोबास गर्दै आएका छन् ।
कोला समैजी मन्दिरमा श्रीपञ्चमी, चैते दशैँं, नवरात्रीमा पूजाआजा गरिन्छ । कार्तिक शुक्ल दशमीमा मन्दिरमा विशेष पूजाआजा गरी धार्मिक परम्परा अनुसार देवपुजन कार्य हुँदै आएको पुजारी भट्टले बताए । यस मन्दिरमा पूजाआजा गर्नाले मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।