बैतडी–बैतडीको पाटन नगरपालिका –१ को सरस्वती आवि गुत्थडी र भूमीराज आवि बाटुलासौं गाभिएर बनेको प्रस्तावित वृन्दावन माविको भवन हस्तान्तरण कार्य सम्पन्न भएको छ ।
दुईओटा आधारभूत विद्यालयहरु समायोजन गरेर एउटा माध्यमिक विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार प्रस्तावित वृन्दावन माविको भवन निर्माण गरिएको पाटन नगरपालिका–१ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।
दुवै आधारभूत विद्यालयलाई समायोजन गर्दै चालु शैक्षिक सत्रदेखि नै माध्यमिक तहको पढाई शुरु भइसकेको वडा अध्यक्ष ठगुन्नाले बताए ।
प्रस्तावित वृन्दावन मावि सञ्चालनमा ल्याएपछि संघीय सरकार र पाटन नगरपालिकाको संयुक्त लगानीमा भवन निर्माण गरिएको थियो । उक्त भवनलाई मंगलबार एक कार्यक्रमको आयोजना गरेर विद्यालयलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चन्दको अध्यक्षतामा भएको भवन हस्तान्तरण कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमल बोहरा प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा वडा अध्यक्ष तर्कसिंह ठगुन्ना, स्थानीय अभिभावक लगायतको सहभागिता रहेको थियो ।
गाउँमै माध्यमिक तहको विद्यालय सञ्चालनमा आएपछि स्थानीयबासिन्दाहरु पनि खुसी भएका छन् । माध्यमिक तह सम्मको शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय सेती चन्दले बताइन् ।
दुईओटा आधारभूत विद्यालय गाभेर प्रस्तावित माध्यमिक विद्यालय सञ्चालन गरिएको भएपनि विभिन्न समस्याहरु कायमै रहेका विद्यालयका प्रधानाध्यापक करबीर भट्टराईले बताए । विद्यालयमा भौतिक संरचनाका साथै, कुर्ची टेबल लगायतका सामग्रीहरुको समेत अभाव रहेको उनले बताए ।