Sagun Khabar
बैतडीको गुरुखोलाका एक युवक भारतमा मृत फेला 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला, खाल घर भएका एक युवक भारतमा मृत फेला परेका छन् । 

रोजगारीको सिलसिलामा ६ महिना अघिमात्रै कतार पुगेका २६ बर्षीय टेकेन्द्र धामी भारतको बाटो हुँदै घर फर्किरहेका थिए । घर फर्कने क्रममा उनी भारतको मुरदावादमा मृत फेला परेका मृतकका काका शेरबहादुर धामीले बताए । 

Atrya hospital

रोजगारीका लागि कतार पुगेका धामीमा मानसिक समस्या देखिएको थियो । उनको कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको थियो । कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाण्डौंको टिकट काटेको भएपनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेका थिए । 

दिल्लीबाट गाडीमा चढेका धामी गाडीमा तेल हाल्ने बेला भागेका र पछि खोजी गर्दा मृत फेला परेको जानकारी आएको बताइएको छ । भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत फेला परेका हुन् । 

मृतक धामीको घरमा श्रीमति र एक छोरी रहेकी छन् । रोजगारीका लागि विदेश गएको छोराको मृत्यु खबरले उनका बुवा–आमा विक्षिप्त बनेका छन् । 

रोजगारीका लागि विदेश गएको गाउँको युवा घर फर्कने क्रममा मृत फेला परेपछि गाउँ नै शोकमा डुबेको मृतकका काका शेरबहादुर धामीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update