Sagun Khabar
प्रधानमन्त्री कप महिला छनौट प्रतियोगिताको उपाधि बैतडीलाई 

बैतडी– प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडीले उपाधि जितेकोहो । जानकी थापाको अलराउन्ड प्रदर्शनमा उपाधि हात पारेको हो । 

जितका लागि पाएको ७२ रनको लक्ष्य बैतडीले १२.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे । जसमा कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापा १४ रनमा नटआउट रहिन् । बलिङमा कञ्चनपुरकी मन्जु विष्टले २ विकेट हात पारिन् । 

Atrya hospital

यसअघि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनायो । उसका रेवती धामीले ४१ रनको पारी खेलेपनि अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बैतडीका लागि जानकी थापाले २ विकेट हात पारिन् । जानकी ओम्यान अफ द फाइनल समेत चुनिइन् । 

यस्तै बैतडीकी कप्तान ऋतु कनौजिया सर्वाेत्कृष्ट खेलाडी बनिन् । यस्तै कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर,बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदयीमान खेलाडी बनिन् ।

विजेता,उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् अन्तरगत खेलाडी तयारी निर्देशक एवं ओलम्पियन दीपक विष्ट, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र साउँद,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरालगायतले पुरस्कार वितरण गरे । 

समापन समारोहमा बोल्दै नेपाल क्रिकेट संघका अध्यक्ष चन्दले क्रिकेटलाई सबैको साझा खेल बनाउने बताए । क्रिकेटलाई व्यवसायिक बनाउने र महिला प्रिमियर लिग पनि आयोजना गरिने उनले बताए । 

राष्ट्रिय खेलकुद परिषद् अन्तरगत खेलाडी तयारी निर्देशक एवं ओलम्पियन विष्टले क्रिकेटले नेपाललाई विश्वभरी चिनाएको बताए । यस्तै उनले चतुरबहादुर चन्द नेतृत्वको क्यानले क्रिकेटको विकासका लागि गरेको कामको प्रशंसा समेत गरे । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजना पुस १९ गतेदेखि सुरू भएको प्रतियोगितामा प्रदेशका ७ टोलीको सहभागीता रहेको थियो । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनौट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update