बैतडी–बैतडीको सिगास गाउँपालिकामा आजदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
अर्जुन मावि गाँजरीको प्रांगणमा आज एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्दघाटन गरिएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा पालिकाभरीका १५ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी र छात्रछात्रा एथलेटिक्सका खेलहरु सञ्चालन हुने शिक्षा शाखा प्रमुख भट्टले बताए । पौष २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
सिगास गाउँपालिका –१ का वडा अध्यक्ष रामचन्द्र ऐरीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामी प्रमुख अतिथी रहेकी थिइन् ।
प्रतियोगिताबाट जिल्लास्तरीय प्रतियोगिताका लागि सिगासको टीम तयार हुने शिक्षा शाखा प्रमुख भट्टले बताए ।
सिगास गाउँपालिकाको आयोजना तथा अर्जुन मावि गाँजरीको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।