बैतडी – कतिपय सहकारी संस्थाहरु निष्क्रिय भइरहेका बेला बैतडीको जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था निरन्तर रुपमा अगाडि बढीरहेको छ । २०५४ सालमा स्थानीय महिलाहरुकै अगुवाईमा स्थापना भएको सहकारी संस्था महिलाकै नेतृत्वमा निरन्तर रुपमा अगाडि बढीरहेको छ ।
सहकारी संस्थाले महिलाहरुको आर्थिक क्षेत्रमा पहुँच बढाउन र उनीहरुलाई आर्थिक क्रियाकलापमा सरीक गराउन भूमिका खेलीरहेको जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष नन्दा पालले बताइन् । निरन्तर रुपमा संस्थामा शेयर सदस्यहरुको संख्या वृद्धि हुँदै गएको उनले बताइन् ।
१ हजार ४ जना शेयर सदस्य रहेको सहकारीमा १९ लाख ६३ हजार रुपैयाँ शेयर पूँजी रहेको छ । यस्तै सहकारी संस्थामा २ करोड ३३ लाख ३६ हजार रुपैयाँ बचत रकम रहेको छ भने ३ करोड ८ लाख ७२ हजार रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले दैनिक बचत, मासिक बचत, पर्व बचत र बालबचत सञ्चालन गर्दै आएको संस्थाकी व्यवस्थापक दुर्गा ठगुन्नाले बताइन् ।
सहकारी संस्थाका शेयर सदस्यहरुलाई आवश्यकता अनुसार ऋण लगानी गर्ने र उनीहरुको बचत पनि मागेकै समयमा फिर्ता दिने गरेको संस्थाकी लेखापाल पुष्पा भण्डारीले बताइन् ।
सहकारी संस्थाले महिलाहरुको आर्थिक क्षेत्रमा पहुँच पुर्याउन उनीहरुलाई विभिन्न किसिमका व्यवसाय सञ्चालनका लागि ऋण लगानी गर्ने गरेको सस्थाकी अध्यक्ष पालले बताइन् । उनले भनिन्,‘यो सहकारीमा महिलामात्रै शेयर सदस्यहरु रहेका छन् । हामीले महिलाहरुको आर्थिक क्षेत्रमा पहुँच पुर्याउनका लागि काम गर्दै आएका छौं । आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउने प्रयासमा छौं ।’
जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सुत्केरी भएको समयमा पोषणभत्ता समेत दिँदै आएको छ । शेयर सदस्य सुत्केरी भएमा पोषण भत्ता बापत २ हजार ५ सय रुपैयाँ दिने गरेको व्यवस्थापक ठगुन्नाले बताइन् ।
यस्तै ७० बर्षमाथिका शेयर सदस्यहरु बिरामी भएमा उनीहरुलाई उपचार खर्च बापत ३ हजार दिने गरिएको छ । यस्तै कुनै शेयर सदस्यको मृत्यु भएमा उनका परिवारलाई तीन हजार रुपैयाँ सहयोग प्रदान गर्ने गरेको उनले बताइन् ।
सहकारीले सञ्चालन गरेको पर्व बचतले चाडपर्वका बेला सहज हुने अध्यक्ष पालको भनाइ छ । गौरा पर्वलाई मध्यनजर गरेर पर्व बचत गर्ने गरिएको उनले बताइन् । हरेक बर्ष गौराको समयमा पर्व बचतको रकम फिर्ता गर्ने गरिएको उनले बताइन् ।