बैतडी–बैतडीको एक विद्यालयका शिक्षकको भव्य बिदाइ गरिएको छ । एकै विद्यालयमा ४२ बर्ष बढी शिक्षणमा पेशामा संलग्न रही सोही विद्यालयमा ३० बर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका महामलसिंह साउँदको भव्य बिदाइ गरिएको हो ।
अनिवार्य अवकाशपछि नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक साउँदको केही दिन अगाडि भव्य बिदाइ गरिएको थियो । एकै विद्यालयमा यति लामो समयसम्म शिक्षण पेशा अँगालेका साउँदको बिदाइ गर्दा अभिभावक, विद्यार्थी र अन्य सरोकारवाला भावुक भएका थिए ।
नागार्जु मावि शर्मालीमा ४२ बर्ष ४ महिना १२ दिन सक्रिय शिक्षण पेशामा बिताएका साउँदले सोही विद्यालयमा ३० बर्ष ३ महिना ८ दिन प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हालेका थिए ।
जिल्लाको दुगर्म भनेर मानिएको तल्लोसोराड क्षेत्रमा शिक्षाको ज्योति छर्नका लागि सक्रिय रहेका साउँदले विद्यालयको चौतर्फी विकासका लागि समेत पहल गरेका थिए । २०३९ साल भदौ ५ मा शिक्षण पेशामा प्रवेश गरेका साउँदले विद्यालयको चौतर्फी विकास र शिक्षण सिकाइमा आफूले सक्दो प्रयास गरेको बताए ।
तीनओटा बिषयमा स्नातोकोत्तर गरेका साउँदले शिक्षण पेशाका साथै समुदायमा रहेका विभिन्न हानिकारक प्रचलन हटाउन समेत सक्रियता देखाएका छन् । विद्यालयमा यही पौष २१ गते भएको बिदाइ समारोहमा साउँदले समाजको विकासका लागि सबैले लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘यो समाजको विकासका लागि शिक्षण पेशाबाट केही योगदान गरे जस्तो लाग्छ । फेरि पनि सामाजिक क्षेत्रमा क्रियाशील रहनेछु ।’
एकै विद्यालयमा ४२ बर्ष बढी अध्ययनअध्यापनमा सक्रिय रहेका शिक्षकको बिदाइ गर्दा अभिभावक र विद्यार्थीहरु केही निराश देखिएपछि उनलाई गरिएको सम्मान भने निकै गर्विलो रहेको थियो ।
तल्लोसोराडमा शिक्षा क्षेत्रको विकासमा प्रधानाध्यापक साउँदको ठूलो योगदान रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । साउँदकै नेतृत्वमा नागार्जुन मावि शर्माली अहिलेको अवस्थामा आएको बताउँदै उनले उनको अनुभव र क्षमताको प्रयोग गरिनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारदेखि सामाजिक विकृति हटाउन साउँदको भूमिका निकै महत्वपूर्ण रहेको अध्यक्ष साउँदले बताए ।
साउँदकै नेतृत्वमा नागार्जुन माविले भौतिक, आर्थिक एवं शैक्षिक रुपमा प्रगति गरेको छ । जस्ताको छानामुनिकबाट शुरु भएको नागार्जुन माविको यात्रा अहिले सुविधा सम्पन्न भवनमा परिणत भएको छ ।
यस्तै विद्यालयमा छुट्टै कम्पयुटर ल्याब स्थापना, पुस्तकालय स्थापना, नयाँ छात्रवास भवनको स्थापना लगायत अन्य कुराहरुमा समेत अहिले विद्यालयले प्रगति गरिरहेको छ । साउँदकै सक्रियतामा केही समय पहिला उक्त विद्यालयका पूर्व विद्यार्थीहरुको सहयोगमा १८ लाखको लागतमा विद्यालयको दुईकोठे पक्की भवन पनि निर्माण गरिएको थियो ।
यस्तै साउँदकै नेतृत्वमा शिवनाथ क्याम्पस समेत सञ्चालनमा रहेको छ । उच्च शिक्षा हाँसिल गर्न टाढा जान नसक्नेहरुका लागि घर नजिकैको क्याम्पसका उच्च शिक्षा हाँसिल गर्ने वातावरण समेत सिर्जना भएको छ ।