बैतडी- बैतडीको साहिलेकमा सञ्चालित माया घर कपडा बैंकले दोस्रो वर्षमा प्रवेश गरेको छ । गत वर्ष माग १ गतेबाट माया घर बैतडीद्वारा सञ्चालन भएको कपडा बैंकले आज देखि दोस्रो वर्षमा प्रवेश गरेको संयोजक महेश दत्त भट्टले बताए ।
'हुनेले दिने, नहुनेले लगेर जाने भन्ने परोपकारी कार्य गर्ने' भन्ने मुल उदेश्य राखेर मौसम अनुसारको लुगा बितरण, अन्य सामाजिक कार्य गर्ने हेतुले माया घर बैतडी द्वारा कपडा बैंक सन्चालन भएको हो । अति बिपन्न, एकल, असहाय, बेसाहार, टुहुरा बालबालिकाहरुलाइ लक्षित गरेर यो कामको सुरुवात गरेको माघ १ गते एक वर्ष पूरा भएको छ । एक वर्षको अवधीमा एउटा शाखा मेलौलिमा समेत सञ्चालन गरिएको छ ।
शाहीलेकमा स्थापना भएको कपडा बैंकले एक वर्षमा ६१८ परिवारलाई निःशुल्क लुगा वितरण गरेको छ । विभिन्न विद्यालयमा पढ्ने बालबालिका तथा विपन्न परिवारजनलाई उक्त लुगा वितरण गरिएको हो । हामीले विपन्न परिवार तथा बालबालिकाहरूलाई लक्षित गरेर गत वर्ष यो कामको सुरुवात गरेको कपडा बैंकका सञ्चालक महेश भट्टले बताए ।
गत वर्ष माघ १ गतेबाट सुरु गरिएको कपडा बैंकले ओड्ने–ओछ्याउने, न्यानो लुगा तथा लगाउने लुगाहरू वितरण गर्ने गरेको छ । बैतडी सदरमुकामपछि जिल्लाको दक्षिणी क्षेत्र मेलौलीमा स्थापना भएको अर्काे शाखाबाट १९२ परिवारलाई लुगा कपडाहरू वितरण गरिएको छ । कपडा बैंक स्थापना भएपछि जन्मदिन, वैवाहिक वर्षगाँठलगायतका शुभकार्यहरूको अवसरमा विभिन्न व्यक्तिहरूले नयाँ लुगाहरू सहयोग गर्दै आएका छन् ।
‘हुनेले दिने, नहुनेले लगेर जाने’ भन्ने परोपकारी उद्देश्यले स्थापना भएको कपडा बैंकमा सदरमुकाम क्षेत्रका प्रायः अधिकांशले सहयोग गर्ने गरेको छ । बितेको एक वर्षमा सदरमुकामआसपासका शिवस्थली मा.वि., केदारेश्वर मा.वि., वीरेन्द्र मा.वि.लगायत आठवटा विद्यालयका ११० जना विपन्न विद्यार्थीहरूलाई लुगा प्रदान गरिएको कपडा बैंकले जनाएको छ ।
कपडा बैंकलाई देशव्यापी रूपमा सहयोग प्राप्त भइरहेकाले आफूहरू उत्साहित भएर काम गरिरहेको सञ्चालक समूहले बताएको छ । कपडा बैंक सञ्चालन गरेर विपन्न व्यक्ति तथा परिवारलाई निःशुल्क कपडा सहयोग गर्न केही युवा मिलेर सुरु गरेको र एक वर्षको अवधिमा अपेक्षाअनुसार राम्रो काम भएको युवा अभियन्ता मोहित भण्डारीले बताए ।