Sagun Khabar
प्राविधिक व्यवस्थापन हुन नसक्दा सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द

बैतडी - बैतडीको पाटन नगरपालिका ६ स्थित सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ। स्थानीयस्तरमा जलविद्युत् आयोजनाको प्राविधिक व्यवस्थापन गर्न नसक्दा सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको हो ।आयोजनाको एडीआर प्रणालीमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार, सुर्नयागाड जलविद्युत आयोजनाबाट एक सय किलोवाट विद्युत उत्पादन हुँदै आएको भएपनी बीचमा केही प्राविधिक समस्या आएको कारण सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको बताइएको छ । गत माघदेखि एक सय किलोवाट विद्युत उत्पादन गर्दै आएको उक्त विद्युतको एडीआर प्रणालीमा समस्या आएकाले विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।

Atrya hospital

यस अघी २ सय किलोवाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना २०७९ जेठदेखि बन्द रहेको थियो । २०८० माघदेखि एक सय किलोवाट विद्युत उत्पादन शुरु गरिएको भएपनि विद्युत प्रणालीमा समस्या आएपछि फेरि बन्द भएको हो । २०७९ जेठ १४ गतेदेखि पूर्ण रुपमा बन्द रहेको विद्युत गृहको मर्मत गरी सञ्चालन गर्नका  लागि विद्युत प्राधिकरणको आयोजना विकास विभाग र विद्युत वितरण केन्द्र बैतडीको प्राविधक टोलीले  गत मंसिरमा स्थलगत अनुगमन समेत गरेको थियो ।

२ सय किलोवाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना पूर्ण रुपमा बन्द रहेकाले त्यसलाई सञ्चालन गर्नका लागि पहल शुरु गर्न उक्त स्थलगत अनुगमन गरिएको भएपनि आयोजनाको नहर र अन्य संरचना सहित प्राबिधिक सिस्टममा समस्या आएपछि सुर्नयागाड जलविद्युत आयोजना बन्द भएको केन्द्रका प्रमुख पौडेलले बताए । सुर्नयागाड जलविद्युत आयोजना संचालन गर्न तत्काल मर्मत गर्न सकिने अवस्था नरहेको उनले बताए । नहर मर्मत गरेर बन्द रहेको आयोजना सञ्चालनमा ल्याउनका लागि पहल गरिने उहाँको भनाइ रहेको छ ।  उनले भने ‘तत्काल आयोजना सञ्चालनका बिषयमा हामीले पहल गर्छौं । पूर्ण क्षमतामा सञ्चालनका लागि चमेलिया जल विद्युत आयोजना संग समन्वय गरेर प्राविधिक टोलीले अध्ययन गर्ने छ ।

सुर्नयागाड जलविद्युत आयोजनाबाट केहि बर्षदेखि विद्युत उत्पादन बन्द भएकाले उपकरणहरुमा समेत समस्या हुन सक्ने जनाइएको छ । केहि उपकरणमा पुर्ण समस्या आएकाले प्राविधिक टोलिको अध्ययनपछि उपकरणले साथ दिएमा पुर्ण उत्पादनका लागि पहल हुने केन्द्र प्रमुख पौडेलले बताए ।

विद्युत गृहको मर्मत गरी सञ्चालन गर्नका  लागि विद्युत प्राधिकरणको आयोजना विकास विभाग र विद्युत वितरण केन्द्र बैतडीको प्राविधक टोलीले  गत मंसिरमा गरेको स्थलगत अनुगमन प्रतिवेदन अनुसार आयोजना सञ्चालनका बिषयमा काम अघि बढ्ने बताइएको छ ।बैतडीको सुर्नया नदीमा सञ्चालित अधिकांश लघु जलविद्युत आयोजना बन्द छन्। आयोजना बन्द हुँदा दुर्गम बस्तीका नागगरिक अन्धकारमै बस्न बाध्य भइरहेकाले दुई सय किलोवाटको सुर्नयागाड जलविद्युत सञ्चालनमा आए सहज हुने कार्यालय प्रमुख पौडेलले बताएका छन्  ।

पछिल्लो समयमा प्राविधिक व्यवस्थापनको अभाव लगायतका समस्याका कारणले जिल्लाभरिका लघुजलविद्युत् आयोजना धमाधम बन्द हुँदै गएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update