बैतडी - बैतडीमा वनजङ्गलले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । पछिल्लो समय पहाडबाट तराई सहित शहरबजारको बसाइँसराइ बढे संगै बैतडीमा वनजङ्गलले ढाकेको क्षेत्रफलमा वृद्धि भएको हो । भौगोलिक क्षेत्रलाई विश्लेषण गर्दा बैतडीका अधिकांश बेशी क्षेत्रमा घाँसे मैदानको स्थिति सुधारिएको छ भने उच्च पहाडी क्षेत्रमा वन क्षेत्र बिस्तार भएको छ । बैतडी जिल्ला मध्यपहाडी क्षेत्र अन्तर्गत पर्ने भएकाले यो क्षेत्रबाट बसाइ सराइ सर्ने क्रम बढेसँगै कृषियोग्य भूमिमा नयाँ बिरुवा उम्रेर जङ्गल तथा घाँसे क्षेत्र वृद्धि भएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरत प्रसाद भट्टले बताए ।
नेपालमा झण्डै दुई दशकको अवधिमा दुई लाख ५१ हजार हेक्टर वन क्षेत्र बढेको एक तथ्यांकले देखाएको छ । उक्त तथ्यांक वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनबाट सार्वजनिक भएको हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले विभिन्न निकायसँग मिलेर गरेको अध्ययनले यो तथ्य देखाएको हो । तर नेपालमा वनजङ्गलले ढाकेको क्षेत्रफलमा वृद्धि भएको भएपनी गर्मी अर्थात खडेरीको बेला बनमा लाग्ने आगोले भने बर्षेनी धेरै क्षती हुँदै आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भट्टले बताए ।
नेपालमा हाल गरिएको ‘नेसनल ल्यान्डकभर मनिटरिङ सिस्टम’ले देखाएको वनको क्षेत्रफल ४१.६९ प्रतिशतमा काष्ठ तथा बुट्यान क्षेत्र ४.३८ प्रतिशत जोड्दा प्राकृतिक स्रोतले ढाकेको क्षेत्रफल ४६ प्रतिशतभन्दा बढी आउँछ । नेपालले कम्तीमा ४५ प्रतिशत वन क्षेत्र संरक्षण गर्ने नीति लिँदै आएको छ । नेपाल यो नीति ल्याएको भएपनि बन क्षेत्र संरक्षणको लागि जनशक्ति भने सधै अभाव रहेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भट्टले बताएका छन ।
सरकारले यसअघि सन् २०१४ मा पनि राष्ट्रिय वनस्रोत सर्वेक्षण गरेको थियो । त्यतिबेला भने वनजङ्गलले ढाकेको क्षेत्रफल ४०.३६ प्रतिशत अर्थात ५९ लाख ६२ हजार हेक्टर रहेको देखाइएको थियो ।