Sagun Khabar
बैतडीमा रुपान्तरण सहजकर्ताहरुका लागि तालिम शुरु 

बैतडी–बैतडीमा रुपान्तरण सहजकर्ताहरुका लागि १३ दिने तालिम शुरु भएको छ । परोपकार ग्रामीण विकास संघ गल्र्स फस्ट फण्डको सहयोगमा सञ्चालन गरिरहेको बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत सहजकर्ताहरुका लागि तालिम शुरु गरिएको हो । 

परोपकार ग्रामीण विकास संघले पाटन नगरपालिका वडा नं २ र ६ मा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती वडाहरुमा समुदायस्तरमा रुपान्तरण कक्षा सञ्चालन गर्ने सहजकर्ताहरुका लागि तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । 

Atrya hospital

१३ दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षार्थी सहजकर्ताहरुलाई म र मेरो संसार, आत्मजगारण, बालविवाह न्यूनीकरण, लिंगका आधारमा हुने हिंसा, लघु उद्यम, प्राथमिक उपचार, प्राकृतिक श्रोतको संरक्षण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका बिषयमा जानकारी दिइने कार्यक्रम संयोजक भट्टले बताइन् । 

तालिमपछि सहजकर्ताहरुलाई समुदायस्तरमा परिचालन गरिने परोपकार ग्रामीण विकास संघका अध्यक्ष लोकेन्द्रप्रसाद पन्तले बताए । समुदायमा भइरहेको बालविवाह न्यूनीकरणका लागि रुपान्तरण कक्षामार्फत सहजकर्ताहरुले पहल गर्ने उनले बताए । 

बालविवाहले समग्र जीवनमा समस्या पार्ने भएकाले यो बिषयमा किशोरकिशोरी, अभिभावक र अन्य सरोकारवालाहरुलाई जानकारी गराउँदै आएको पन्तले बताए । 

शुक्रबार एक कार्यक्रमको आयोजना गरेर पाटनमा तालिमको शुरुवात गरिएको छ । उक्त तालिममा १० जना सहजकर्ताहरुको सहभागिता छ । कार्यक्रम उद्दघाटन सत्रमा सहभागी पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बालविवाह न्यूनीकरणको क्षेत्रमा परोपकार ग्रामीण विकास संघले नगरपालिकालाई सहयोग गरिरहेको बताए । नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाइसकेकाले यसको कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताए । 

यस्तै उपप्रमुख कमलसिंह बोहराले बालविवाहजस्ता हानिकारक प्रचलन रोक्नका लागि समाजका सबै वर्ग सचेत हुनुपर्नेमा जोड दिए । बालविवाहले पार्ने असर र यसले निम्त्याउने समस्याका बिषयमा जानकारी गराउन र बालविवाह रोकथाममा संस्थाले महत्वपूर्ण योगदान गरिरहेको उनले बताए । 

यस्तै पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बालविवाह सामाजिक समस्याको रुपमा रहेको र यसको न्यूनीकरणका लागि यस्ता तालिमहरुले सहयोग गर्ने बताए । 
 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update