बैतडी– भूमी समस्या समाधान आयोग, जिल्ला समिति बैतडीको अध्यक्षमा रमेश पाण्डेय नियुक्त भएका छन् ।
भूमी समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाण्डेयलाई जिल्ला समिति बैतडीको अध्यक्षमा केही दिन अघि नियुक्त गरेको हो ।
नेपाली कांग्रेस बैतडीका पूर्व कोषाध्यक्ष समेत रहेका पाण्डेयको नेतृत्वमा रहेको समितिले बैतडीमा काम गर्नेछ । आयोगले तोकेको जिम्मेवारी आफूले कुशलतापूर्वक निर्वाह गर्ने अध्यक्ष पाण्डेयले बताए ।
भूमी समस्या समाधान आयोग, जिल्ला समिति बैतडीले जिल्लामा रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि काम गर्ने अध्यक्ष पाण्डेयले बताए ।
यसअघिको समितिले गरेको कामबाटै नयाँ समितिले काम थालनी गर्ने उनले बताए । यसअघिको समितिले १० ओटै स्थानीय तहबाट भूमीहिन दलित,भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरेको छ ।
उक्त तथ्यांकका आधारमा भूमी सम्बन्धी समस्याको समाधानका कामहरु अघि बढाइने अध्यक्ष पाण्डेयले बताए । बैतडीमा २ हजार परिवार भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको अनुमान रहेको छ ।
भूमी समस्या समाधान आयोग, जिल्ला समितिले भूमीहिनहरुका समस्या समाधान गर्दै लालपूर्जा वितरण गर्ने सम्मको अधिकार प्राप्त गरेको छ ।
भूमी समस्या समाधान आयोगको केन्द्रीय कार्यालयले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको र त्यसपछि जिल्ला फर्केर कामको शुरुवात गर्ने अध्यक्ष पाण्डेयले बताए ।
भूमी समस्या समाधान आयोग, जिल्ला समिति बैतडीको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा रहने उनले बताए । उक्त समितिको सदस्य सचिवको रुपमा नापी कार्यालयको प्रमुख रहने व्यवस्था छ ।