बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाको १४ औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । शुक्रबार पालिकाको गाउँसभा सम्पन्न भएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।
गाउँ सभामा चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका कार्यक्रम, बजेट लगायतका बिषयमा समीक्षा गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै यही माघ १५ गतेभित्र पालिकाभित्र सञ्चालन हुने योजनाहरुको अनिवार्य सम्झौता गरिसक्ने र सम्झौता नभएका योजनाहरुको रकमान्तर गर्ने निर्णय भएको अध्यक्ष कार्कीले बताए ।
चालु आर्थिक बर्षको अहिलेसम्म १५ प्रतिशतमात्रै पूँजीगत बजेट खर्च भएकाले विकासे बजेट खर्चको दायरा बढाउने बिषयमा गाउँ सभामा छलफल भएको छ । चालु आर्थिक बर्षमा पालिकाको १२ करोड जति पूँजीगत बजेट रहेको र उक्त बजेटलाई समयमै कार्यान्वयनका बिषयमा सभामा छलफल भएको अध्यक्ष कार्कीले बताए ।
यस्तै गाउँपालिकाको दश बर्षे शिक्षा योजना बनाउने कुरा गाउँ सभामा छलफल गरिएको छ । पालिकाभित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा योजना आवश्यक रहेकाले शिक्षा योजना बनाउने निर्णय समेत सभाले पारित गरेको उनले बताए ।
यस्तै गाउँपालिकास्तरीय खेलकुद विकास समितिको कार्यविधि पनि सभाले पारित गरेको छ । कार्यविधि अनुसार गाउँपालिकास्तरीय खेलकुद विकास समिति गठन हुने र त्यसै अन्तर्गत खेलकुदका गतिविधिहरु सञ्चालन गरिने अध्यक्ष कार्कीले बताए ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष पार्वती कार्की, वडा अध्यक्ष, गाउँसभाका सदस्य लगायतको सहभागिता रहेको थियो ।