Sagun Khabar
बैतडीमा १३ हजार बढी किशोरीहरुलाई एचपीभी खोप दिइने 

बैतडी–बैतडीमा १३ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिइने भएको छ । देशैभर सञ्चालन हुने अभियान अन्तर्गत बैतडीमा पनि यही माघ २२ गतेदेखि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए । 

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा आवश्यक तयारी भइरहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । जिल्लाका १३ हजार ६ सय ५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिने लक्ष्य रहेको उनले बताए । यो संख्यामा केही घटबढ हुन सक्ने उनले बताए । 

अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई खोप दिइने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

Atrya hospital

खोप अभियानको तयारी स्वरुप जिल्लाका १० ओटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र जिल्लाभरी रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई तालिम दिने कार्य भइरहेको सूचना अधिकारी लेखकले बताए । यो तालिम माघ १० गतेसम्म सञ्चालन हुने बताइएको छ । 

अभियानका लागि बैतडीमा कक्षा ६ देखि १० सम्मको पढाई हुने २ सय ३४ विद्यालय र १ सय ५ ओटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको छ । सोही अनुसार अभियानका लागि स्वास्थ्यकर्मी खटिने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

खोप अभियानलाई सफल बनाउन जिल्लाभरीका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम दिनुका साथै विद्यालयका शिक्षिकाहरुलाई समेत तालिम दिने योजना रहेको छ । 

पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या नेपालमा वर्षेनि बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो नम्बरमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिलाले यसैका कारण ज्यान गुमाउने  र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान गइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ ।

हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने  र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट ज्यान जाने अनुमान छ । पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update