Sagun Khabar
दार्चुलामा ९ हजार बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप दिइने 

दार्चुला –दार्चुलामा ९ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिइने भएको छ । यही माघ २२ गतेदेखि संञ्चालन हुने एचपीभी खोप अभियान अन्तरर्गत जिल्लाभरीका ९ हजार बढी किशोरीहरुलाई खोप दिने तयारी भएको हो ।

देशैभर सञ्चालन हुने अभियान अन्तर्गत दार्चुलामा पनि खोप अभियान सञ्चालन हुने र यसको तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले बताए । 

अभियान अन्तर्र्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई खोप दिइने भट्टले बताए । 

Atrya hospital

खोप अभियानको तयारी स्वरुप अहिले जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकामा रहेका स्वास्थ्य शाखा प्रमुख र जिल्लाभरी रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई तालिम दिने कार्य संञ्चालनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । माघ ११ गतेसम्म तालिम सञ्चालन हुने बताइएको छ । 

दार्चुलामा १ सय ३० ओटा माध्यमिक विद्यालय र जिल्लाभरी रहेका स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

खोप अभियानलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाका साथै विद्यालयका शिक्षिकाहरुलाई समेत तालिम दिने योजना रहेको उनले बताए । 

पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या नेपालमा वर्षेनि बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो नम्बरमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिलाले यसैका कारण ज्यान गुमाउने  र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान गइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ ।

हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने  र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट ज्यान जाने अनुमान छ । पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update