दार्चुला –दार्चुलाको मार्मा गाउँपालिका–३ स्थित लटिनाथ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र शिक्षा मन्त्री विद्या भट्टराइलाई ज्ञापन पत्र बुझाइएको छ ।
उक्त क्याम्पसलाई आंगिक बनाउन माग गर्दै मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, उपाध्यक्ष शर्मिला सिंह, मार्माका स्थानीय नेताहरु, क्याम्पस सञ्चालक समिति तथा सर्वपक्षीय प्रतिनिधिका तर्फबाट पूर्व प्रधानमन्त्री प्रचण्ड र शिक्षा मन्त्री भट्टराईलाई भेटेर ज्ञापन पत्र बुझाइएको हो ।
दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका विद्यार्थीहरु उक्त क्याम्पसका अध्ययनका लागि पुग्ने गरेका छन् ।
जिल्लाको दुर्गम क्षेत्रमा जनस्तरबाट सञ्चालन भइरहेको क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने माग गरिएको हो ।