बैतडी –यही माघ २२ गतेदेखि देशव्यापी रुपमा सञ्चालन हुने एचपीभी खोप अभियानका लागि बैतडीमा पनि स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिने कार्य भइरहेको छ ।
जिल्लाभरी रहेका ७ सय ५० जना स्वास्थ्यकर्मीहरुलाई अभियानलाई सफल बनाउन प्रशिक्षण दिने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
पहिलो चरणमा १० ओटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र उपप्रमुख तथा स्वास्थ्यचौकीका प्रमुखहरुलाई प्रशिक्षण दिने कार्य भइरहेको छ । बैतडीमा भोलिसम्म यो कार्य सञ्चालन हुने खोप सुपरभाइजर निरीक्षक भट्टले बताए ।
त्यसपछि माघ २० गतेभित्र खोप दिने कार्यमा संलग्न हुने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स र विद्यालयका शिक्षिकाहरुलाई तालिम दिइ सक्ने कार्ययोजना रहेको उनले बताए ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपीभी खोप अभियानका लागि जिल्ला तयारी तीव्र रुपमा भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए ।
पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपीभी खोप लगाइने उनले बताए ।
बैतडीमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार ६ सय ५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिने तयारी रहेको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए । विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुको यकिन संख्या आउन बाँकी रहेको भट्टले बताए ।
खोप अभियानका लागि कक्षा ६ देखि १० सम्म पढाई हुने २ सय ३४ ओटा विद्यालय र स्वास्थ्यचौकीहरुलाई खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म अभियान सञ्चालन हुने बताइएको छ ।