बैतडी – बाग्मती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
‘सुपर–फोर’ को अन्तिम खेलमा सुदूरपश्चिमले बाग्मती प्रदेशलाई ३० रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको बाग्मती १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भयो । बाग्मतीकी यशोदा विष्टले सबैभन्दा धेरै ३० रन बनाइन् । सुदूरपश्चिमका कविता कुँवर र करिष्मा थापाले २÷२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनायो । सुदूरपश्चिमकी ऋतु कनौजियाले नटआउट ३४ रन बनाइन् । बाग्मतीका सोनु खड्का र मनिषा उपाध्यायले ३÷३ विकेट लिए ।
अब सुदूरपश्चिमले उपाधिका लागि फाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । आजै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ फाइनलमा पुगेको छ । फाइनल खेल भोलि हुनेछ ।