बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नं १ को कार्यालयले आज वडामा रहेका शिक्षण संस्था र सरकारी कार्यालयहरुमा शोक बिदा दिएको छ ।
सिगास गाउँपालिका–१ मा शनिबार भएको जिप दुर्घटनामा परी एकै गाउँका दुईको जनाको मृत्यु भएको र चार जना घाइते भएकाले आज वडामा शोक बिदा दिइएको वडा अध्यक्ष रामचन्द्र ऐरीले जानकारी दिए ।
दुर्घटनामा सिगास –१ खरकेउडाकी १९ बर्षीया पार्वती धामी र १४ बर्षीया जयन्ती धामीको मृत्यु भएको थियो । जिपमा सवार अन्य ४ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको वडा अध्यक्ष ऐरीले बताए ।
सिगास –१ कै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामीको उपचार भइरहेको हो ।
शनिबार बिहान ५ बजे सिगास गाउँपालिका–१, को गडानबाट तल्लो इराना हुँदै फर्कंदै गरेको सुपप्र ०१–००१ च ४०२८ नम्बरको जिप माडौं भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
कच्ची सडकबाट जिप करीब ५ सय मिटर तल खसेको थियो । दुर्घटनाका समयमा सिगास –१ कै जयन्त बोहराले जिप चलाईरहेका थिए । उनी अर्को जिपको सहचालक रहेको बुझिएको छ । उनी फरार रहेका र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।