बैतडी –बैतडीको सिगास गाउँपालिका–१ स्थित खरकेउडा गाउँ शोकमा डुबेको छ । शनिबार बिहान भएको जिप दुर्घटनामा एकै गाउँका दुई जना किशोरीको मृत्यु र चार जना घाइते भएपछि पूरै गाउँ शोकमा डुबेको हो ।
शनिबार बिहान ५ बजे सिगास गाउँपालिका–१, को गडानबाट तल्लो इराना हुँदै फर्कंदै गरेको सुपप्र ०१–००१ च ४०२८ नम्बरको जिप माडौं भन्ने स्थानमा दुर्घटनामा परेको थियो । उक्त जिपमा खरकेउडाका ६ जना सवार रहेका थिए । ती मध्ये १९ बर्षीया पार्वती धामी र १७ बर्षीया जयन्ती धामीको मृत्यु भएको छ ।
पार्वती डडेल्धुरा शिक्षा क्याम्पसमा स्नातक तह दोश्रो बर्षमा अध्ययन गरिरहेकी थिइन् भने जयन्ती अर्जुन मावि गाँजरीमा कक्षा १२ मा अध्ययनरत थिइन् । तल्लोमल्लो घरको दुई जना किशोरीको दुर्घटनामा ज्यान गएपछि खरकेउडा गाउँमा शोकमा डुबेको स्थानीय भावना धामीले बताइन् । उनले भनिन् ‘हाम्रो एकै परिवारका दुई जनाको ज्यान गएको छ । एकै परिवारका चार जना घाइते अवस्था छन् । गाउँमा सन्नाटा छाएको छ ।’
पार्वती बुवा रोजगारीका लागि भारतमा रहेका र उनी समेत सम्पर्कमा नरहेका धामीले बताइन् । मलेसियाबाट फर्केपछि उनी रोजगारीका लागि भारत गएका र त्यसपछि उनी सम्पर्कमै नरहेका उनले बताइन् । पार्वतीको मृत्युपछि उनकी आमा विक्षिप्त अवस्थामा छन् ।
पार्वती र जयन्तीको मृत्यु पछि उनका परिवारका सदस्यहरु विक्षिप्त अवस्थामा छन् । लाउँखाउँ भन्ने उमेरमा दुर्घटनाले ज्यान लिएपछि गाउँ शोकमग्न भएको धामीले बताइन् ।
दुर्घटनामा दुईको जनाको मृत्यु हुनुको साथै चार जना घाइते भएका छन् । घाइते मध्ये १६ बर्षीया निर्मला धामीको अवस्था गम्भीर रहेको छ । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । निर्मला अझै पनि होसमा आउन नसकेकी सिगास गाउँपालिका वडा नं १ का वडा अध्यक्ष रामचन्द्र ऐरीले जानकारी दिए ।
घाइते मध्ये ४० वर्षीय तुलसी धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
फरार रहेका चालक सिगास–१ कै जयन्त बोहरालाई नियन्त्रण लिएको र उनको पनि उपचार भइरहेको छ । उनी पनि घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
विवाहको भोज खाएर फर्किदा भएको दुर्घटनाले सिँगो गाउँ विक्षिप्त बनेको वडा अध्यक्ष ऐरीले बताए । उनले भने ‘दुर्घटनाले पुरै गाउँ शोकमा डुबेको छ । गाउँमा रुवाबासी चलेको छ । एकातिर दुई किशोरीको ज्यान गएको छ । घाइतेहरु उपचाररत छन् । गाउँको अवस्था निकै बेहाल भएको छ ।’
दुर्घटनामा एकै गाउँमा दुई जना किशोरीको ज्यान गएपछि वडा नं १ को कार्यालयले आज शोक बिदा दिएको छ । वडाभरीका विद्यालय तथा सरकारी कार्यालयमा शोक बिदा रहेको वडा अध्यक्ष ऐरीले बताए ।
कच्ची सडकबाट जिप करीब ५ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । तर कच्ची सडकमा तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । उक्त जिपलाई सहचालकले चलाएका कारण पनि दुर्घटना भएको हुन सक्ने भनिएको छ ।
ग्रामीण कच्ची सडकहरुमा सवारी साधन चलाउन ध्यान नदिँदा दुर्घटना हुने गरेका छन् । सवारी दुर्घटनामा नागरिकहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रही आएको छ ।