Sagun Khabar
सरकारी साधन दुरुपयोगदेखि जनताको आक्रोशः रावल र भण्डारीको नेतृत्वमाथि प्रश्नचिन्ह

बैतडी-नेताहरुको नेतृत्वले कुनै पनि राष्ट्रको प्रगति र स्थिरतामा महत्त्वपूर्ण भूमिका खेल्दछ । तर, विगत केही दशकदेखि नेपाली जनतामा नेताहरु प्रति वितृष्णा बढ्दै गएको छ । यो भावना कुनै एक व्यक्ति वा पार्टीमाथि सीमित छैन, बरु यो समग्र राजनीतिक प्रणालीप्रति नै गहिरो असन्तोषलाई प्रतिबिम्बित गर्छ । 

नेताहरु चुनावी अभियानको समयमा अनेकौं सपना र आश्वासन बाँड्ने गर्छन् । तर, तिनीहरूमध्ये धेरैजसो वाचा पूरा हुँदैनन् । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार निर्माणजस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा सुधार गर्ने वाचा चुनावपछि केवल भाषणमै सीमित हुने गरेको छ । यसले जनतामा विश्वासको कमी पैदा गरेको छ ।

भ्रष्टाचार नेपाली राजनीतिको मूल समस्यामध्ये एक हो । नेताहरु र उच्च तहका कर्मचारीहरूले सार्वजनिक कोषको दुरुपयोग गर्ने, ठेक्कापट्टा प्रक्रियामा अनियमितता गर्ने, र आफन्तवादलाई प्रोत्साहन दिने गरेका उदाहरणहरु प्रशस्त छन् । यसले गर्दा जनतामा गहिरो असन्तोष फैलिएको छ । पछिल्लो समय, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको घटनाले यस समस्यालाई अझ स्पष्ट पारेको छ ।

Atrya hospital

शनिवार धनगढी जाने क्रममा एमालेका संसदीय दलका नेतासमेत रहेका रावल सवार सरकारी गाडी कञ्चनपुरको दैजी चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले रोकेका थिए । रावलले प्रदेश ०१–००१ झ ३१८ नम्बरको सरकारी गाडी प्रयोग गरिरहेका थिए । शनिवार वा बिदाको दिन सरकारी साधन प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित सचिवालयबाट स्वीकृति लिनुपर्ने प्रावधान हुँदाहुँदै पनि, यस्तो अनुमति नलिएको आरोप छ । रावलको सचिवालयले भने स्वीकृति लिइएको दाबी गरे पनि, यो घटनाले सरकारी साधनको दुरुपयोग र नेताहरूको व्यवहारमा सुधारको खाँचोलाई झल्काएको छ ।

रेडियो निङ्गलाशैनीमा सगुन खबरको समाचार

पछिल्लो समय उद्योग मन्त्री भण्डारीको गृह जिल्ला बैतडी भ्रमणको सन्दर्भमा रेडियो निङ्गलाशैनीको फेसबुक पेजमा प्रकाशित समाचारले पनि जनताको असन्तुष्टि झल्काएको छ । “उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउँदै, यस्तो छ भ्रमण तालिका“ शीर्षकको समाचारमा धेरै पाठकहरुले मन्त्रीप्रति गुनासो व्यक्त गरेका छन् ।

पाठकहरुको प्रतिक्रिया अनुसार, मन्त्री भण्डारीको भ्रमणलाई जनताले औपचारिकता मात्र ठानेका छन् । अधिकांस प्रतिक्रियामा मन्त्रीले गृह जिल्लाको विकासका लागि ठोस काम गर्न नसकेको गुनासो व्यक्त गरिएको छ । जनताको अपेक्षा नेताहरुबाट ठूला परिवर्तन ल्याउने र दीर्घकालीन प्रभाव पार्ने कदमहरुको हो । तर, मन्त्रीहरुको भ्रमण र गतिविधिहरु केवल दिखावटी मात्र भएको जनगुनासो व्यापक छ । यस घटनाले नेताहरुको व्यवहारले जनताको वितृष्णालाई अझ गहिरो बनाएको देखिन्छ ।

नेताहरुले जिम्मेवार र कुशल नेतृत्व प्रदर्शन गर्न नसक्दा जनतामा वितृष्णा बढेको हो । नेताहरु आफ्नो व्यक्तिगत स्वार्थ र पदलाई मात्र प्राथमिकता दिन्छन् । त्यसका अलवा आफ्ना कार्यकर्ता र आफन्तहरुलाई मात्र चिन्ने र राष्ट्रिय हितलाई प्राथमिकतामा नराख्ने प्रवृत्तिले जनताको आशा निराशामा परिणत भएको छ ।

दलगत स्वार्थले गर्दा नेपाली समाजमा गहिरो विभाजन आएको छ । नेताहरुले जातीय, भाषिक, र क्षेत्रीय भावनालाई उचालेर राजनीतिक लाभ उठाउने गरेको देखिन्छ । यसले सामाजिक एकता खलबल्याउने मात्र होइन, भविष्यका लागि खतरनाक परिणामहरू निम्त्याउन सक्छ ।

बारम्बारको सरकार परिवर्तन, शक्ति संघर्ष, र राजनीतिमा निरन्तर अस्थिरताले गर्दा जनतामा नेताहरुप्रतिको वितृष्णा बढेको हो । स्थिर सरकारको अभावमा जनताको आधारभूत आवश्यकता पूरा गर्न समेत समस्या परेको छ ।
नेताहरु प्रति वितृष्णा बढ्दै जाँदा जनतामा लोकतान्त्रिक प्रणालीप्रति नै अविश्वास पैदा भएको छ । जनताले चुनावमा भाग लिन रुचि नदेखाउने, वा तटस्थ रहन थाल्नेको सँख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ ।  यसले लोकतन्त्रको आधारभूत संरचनालाई अवश्य पनि कमजोर बनाउँछ ।

जब नेताहरुले जनताको मागलाई बेवास्ता गर्छन्, तब नागरिक आन्दोलन, प्रदर्शन, र हड्तालको मात्रा बढ्छ । यी गतिविधिले देशको आर्थिक, सामाजिक, र राजनीतिक स्थायित्वमा नकारात्मक असर पुर्याउदै आएको छ र पुर्याउँछ ।

देशको नेतृत्वप्रति वितृष्णा र सुधारको अभावले गर्दा प्रतिभाशाली युवाहरु विदेश जाने प्रवृत्ति दिनानुदिन बढ्दो छ । यो प्रवृत्तिले देशभित्र विकासका लागि आवश्यक जनशक्तिको अभाव सिर्जना गरेको सर्वविदितै छ ।  विभाजनकारी राजनीतिले सामाजिक सद्भावलाई कमजोर पारेको छ  । यसले समुदायहरूबीच अविश्वास बढाउँने र सहकार्यको भावना समाप्त गरेको छ ।

सुधारका पक्ष

नेताहरुले जनताको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्छ ।   पारदर्शिता, जवाफदेहिता, र इमानदारीलाई आफ्नो प्राथमिक मूल्य बनाउनु जरुरी छ बर्तमान परिपेक्षमा  जिम्मेवार नेतृत्वले मात्र जनताको विश्वास जित्न सक्छ ।
भ्रष्टाचार नियन्त्रण गर्न र नेताहरुको जवाफदेहिता सुनिश्चित गर्न कानूनी र संस्थागत सुधारको आवश्यक छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायलाई राजनितिक दबाब र प्रभाव भन्दापनी शक्तिशाली र स्वतन्त्र बनाउनु आवश्यक छ ।

साथै, सरकारी साधनको दुरुपयोग रोक्न स्पष्ट मापदण्ड र निगरानी प्रणाली लागू गर्नुपर्छ । राजेन्द्र सिंह रावलको घटनाजस्तो विवाद फेरि नदोहरियोस् भन्नका लागि कडा कारबाही प्रणाली आवश्यक छ । जनताले आफ्नो अधिकार र कर्तव्यबारे सचेत रहनुपर्छ । निर्वाचनमा सक्रिय सहभागिता, नेताहरुको क्रियाकलापको निगरानी, र आवश्यकता परेको खण्डमा आवाज उठाउने अभ्यासले परिवर्तन ल्याउन सक्छ । राजनीतिक सचेतनाका लागि शिक्षा अनिवार्य छ । शिक्षित जनताले सही नेताको छनोट गर्न सक्षम हुन्छन् । यसले जनताको माग र नेताहरुको जिम्मेवारीबीच सन्तुलन कायम गर्न मद्दत पुर्याउँछ ।

नयाँ सोच, ऊर्जा, र दूरदृष्टि भएका युवाहरुलाई राजनीतिक नेतृत्वमा ल्याउनु आवश्यक छ । युवाहरुले जिम्मेवारी लिँदा पुराना प्रवृत्तिहरूलाई चुनौती दिने र सुधारको प्रक्रिया अघि बढाउने सम्भावना हुन्छ । जसको उदाहरण बालेन,हर्क,गोपि,ज्ञानेन्द्र,रबि लगायतका नेता बनिसकेका छन् ।

कार्यकर्ताहरुलाई सन्देश

नेताहरुका कार्यकर्ताहरुलाई आफ्ना नेताहरुलाई सही बाटोमा लैजान आग्रह गरिन्छ । आफ्ना नेताहरुको गलत कार्यको बचाउ गर्नुभन्दा उनीहरुलाई सुधार्न दबाब दिनुपर्छ । भ्रष्ट नेताहरुको पछि लागेर आफ्नो भविष्य र समाजको हितमा खेलवाड गर्नुहुन्न भन्ने सन्देश सम्पुर्ण कार्यकर्ताहरुमा पुग्न जरुरि छ । आलोचनात्मक सोच विकास गरी आफ्नो समाजको समृद्धिमा योगदान दिन कार्यकर्ताहरुको भूमिका महत्त्वपूर्ण हुन्छ ।

स्मरण रहोस नेताहरु प्रति जनताको वितृष्णा कुनै एकदिनमा बनेको समस्या होइन । यो दशकौंसम्मको असफलता, भ्रष्टाचार, र गलत नेतृत्वको परिणाम हो । तर, यसलाई सम्बोधन गर्न सकिने सम्भावना पनि प्रशस्त छ । नेताहरुले आफ्नो कार्यशैलीमा सुधार ल्याएर, जनताको विश्वास जितेर, र देशलाई सही दिशामा लैजान सक्नु पर्छ । साथै, जनताले पनि सचेत नागरिकको भूमिका निर्वाह गर्न सक्नुपर्दछ । राजेन्द्र सिंह रावलजस्तो नेताहरुले सरकारी साधनको दुरुपयोग रोक्न इमानदार र पारदर्शी बन्नु जरुरी छ ।   

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update