Sagun Khabar
बैतडीमा १३ हजार ५ सय ६४ किशोरीलाई क्यान्सरविरुद्ध एचपीभी खोप दिइने 

बैतडी –बैतडीमा १३ हजार ५ सय ६४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइने भएको छ । यही माघ २२ गतेदेखि देशैभर सञ्चालन हुने अभियान अन्तर्गत बैतडीमा पनि तयारी तीव्र भइरहेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

अभियान अन्तर्गत जिल्लाभरीका विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार २६३ जना किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष सम्मका ३ सय ७१ जना किशोरी गरेर १३ हजार ५६४ जनालाई एचपीभी खोप दिने तयारी भएको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

Atrya hospital

बैतडीमा माध्यमिक तहका २ सय ३८ ओटा विद्यालय र ९० ओटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको छ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाका खोप केन्द्रहरुमार्फत छुटेका किशोरीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए । 

खोप अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाभरीका स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यचौकी प्रमुखहरुलाई तालिम दिइसकिएको छ । यस्तै प्रत्येक स्थानीय तहहरुले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीयस्तरमा तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरिरहेको सूचना अधिकारी लेखकले बताए । 

यस्तै खोप अभियान सञ्चालनका बेला हुन सक्ने केही अवाञ्छित घटनाहरुलाई व्यवस्थापनका लागि चिकित्सक सहितको टोली तयारी अवस्थामा रहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रुपमा लगाउनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताए । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्षेनी महिलाहरुले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप अभियान सञ्चालन हुन लागेको उनले बताए । 

यसअघि नमूनाको रुपमा देशभरीका १० हजार जना किशोरीहरुलाई यो खोप दिइसकिएको छ । त्यो बेला यो खोप दुईमात्रा दिइएको भएपनि अभियानका बेला भने एकमात्रा मात्रै खोप दिइने खोप सुपरभाइजर निरीक्षक भट्टले बताए । एकमात्रा खोपले काम गर्ने भएकाले एकमात्रामात्रै दिइने उनले बताए । आगामी बर्षदेखि यो खोपलाई नियमित खोपको रुपमा दिइने समेत उनले बताए । 

जिल्लामा सञ्चालन हुने खोप अभियानलाई प्रभावकारी बनाउन सम्बद्ध सबैको सहयोग आवश्यक रहेको जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए । क्यान्सर जस्तो प्राणघातक रोगबाट बचाउन खोपले काम गर्ने भएकाले लक्षित समूहका सबैलाई खोप अभियान सरीक गराउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update