बैतडी –सुदूरपश्चिममा बर्षेनी कुष्ठरोगका बिरामीहरुको संख्या घट्दै गएको छ । देशैभरी कुष्ठरोगका बिरामीको संख्या घट्दै गएको र सुदूरपश्चिममा पनि यो संख्या घट्दै गएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले बताए ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक बर्ष २०७९ ÷८० मा २ सय ३० जना कुष्ठरोगका बिरामी रहेकोमा गत आर्थिक बर्षमा २ सय २९ जना कुष्ठरोगका बिरामी रहेका थिए । चालु आर्थिक बर्षको अहिले सम्म ७० जना कुष्ठरोगका बिरामी फेला परेका क्षयकुष्ठ अधिकृत ओझाले बताए ।
सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा कुष्ठरोगका बिरामी रहेका छन् । कैलालीमा चालु आर्थिक बर्षको अहिलेसम्म ४८ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । कञ्चनपुरमा १८ जना, दार्चुलामा २ जना, अछाम र डोटीमा एक÷एक जना कुष्ठरोगका बिरामी फेला परेका ओझाले बताए ।
सुदूरपश्चिमका बाजुरा, बझाङ,बैतडी र डडेल्धुरामा यो बर्षको अहिलेसम्म एकजना पनि कुष्ठरोगका नयाँ बिरामी फेला नपरेका ओझाले बताए ।
आज ७२ औं विश्व कुष्ठरोग दिवस ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने नाराका साथ मनाइएको छ ।
शरीरमा छुँदा थाहा नपाउनु, रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखा पर्नु, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनु, नशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, आँखीभौँ झर्नु वा पातलो हुनु, हल्केलाको मासंपेशी सुकेर जानुजस्ता कुष्ठरोगका लक्षण हुन् । यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानु, हातगोडा पोल्नु, निदाएको जस्तो हुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन् ।
कुष्ठरोगको उपचारमा लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्न जरुरी रहेको बताइएको छ । कुष्ठरोगीहरुलाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थालेको बताउँदै ओझाले कुष्ठरोग उपचार गरेमा निको हुन्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक रहेको उनले बताए ।