बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा १ हजार ४ सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइने भएको छ ।
नगरपालिकामा माघ २२ देखि २६ गतेसम्म खोप अभियान सञ्चालनको तयारी भएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले बताए ।
खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत १ हजार ४ सय ८७ जना र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेरका ८ जना गरेर १ हजार ४ सय ९५ जना किशोरीलाई खोप दिइने स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।
खोप अभियानका लागि सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने कार्य भइरहेको र अन्य तयारी समेत भइरहेको उनले बताए ।
दशरथचन्द नगरपालिकामा ३५ ओटा विद्यालय र १७ ओटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको छ । तोकिएको खोप केन्द्रमा खोप अभियान सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जोशीले बताए ।
देशैभरी सञ्चालन हुने अभियान अन्तर्गत दशरथचन्द नगरपालिकामा पनि खोप अभियान सञ्चालन भइरहेकाले यसलाई सफल बनाउन सबैले सक्दो पहल गर्नुपर्ने दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले बताए ।
पाठेघरको मुखको क्यान्सरबाट महिलाहरु पीडित रहेकाले त्यस्तो रोग लाग्न नदिन खोपले काम गर्ने भएकाले खोप अभियानलाई सफल बनाउनुपर्नेमा दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले जोड दिइन् ।