बैतडी –बैतडीको पाटन नगरपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्न थालेको छ ।
चालु आर्थिक बर्षका योजनाहरु कार्यान्वयनका लागि सम्बन्धित वडामै पुगेर सम्झौता गर्ने गरिएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मराज जोशीले बताए ।
गएको शनिबार पाटन नगरपालिका वडा नं ५ बाट वडामै योजनाहरुको सम्झौता गर्ने कार्य शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।
आइतबार वडा नं ८,९ र १० नम्बरमा कार्यान्वयन हुने योजनाहरुको सम्झौता गरिएको छ ।
प्राविधिक शाखाका कर्मचारीसहित वडामै पुगेर योजनाको सम्झौता गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।
नगरपालिकामा पुगेर योजना सम्झौता गर्न झण्झटिलो हुने भएकाले सेवाग्राहीको सहजताका लागि वडामै योजना सम्झौताको काम भइरहेको बताइएको छ ।
वडामै योजनाहरुको सम्झौता गर्ने कार्यले नगरबासीहरुलाई सहज भएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।
योजनाको सम्झौता गर्ने बेलामा योजना कार्यान्वयनका बिषयमा समेत जानकारी दिने गरिएको वडा अध्यक्ष बिष्टले बताए । यस्तै योजनाहरुलाई गुणस्तरीय रुपमा सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई निर्देशन दिइएको उनले बताए ।
मंगलबार वडा नं १ का योजनाहरुको वडामै पुगेर सम्झौता गरिने कार्यक्रम रहेको पाट नगरपालिका–१ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।