बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाभित्रका ६ ओटा विद्यालयमा योग कक्षा सञ्चालन हुने भएको छ । पहिलो चरणमा ६ ओटा विद्यालयहरुमा हप्ताको एक दिन योग कक्षा सञ्चालन हुने गरेर शिक्षकहरुलाई योग प्रशिक्षक प्रशिक्षण तालिम दिइएको दशरथचन्द नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए ।
शिक्षकहरुलाई पाँच दिने आयुर्वेद तथा योगाभ्यास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिइएको कलौनीले बताए ।
पहिलो चरणमा केदारशीला मावि सुर्काल, निङ्गलाशैनी मावि देहीमाण्डौं, मणिलेक मावि गुरुखोला,कुलौन मावि खतेडी, विरेन्द्र मावि शाहीलेक र केदारनागार्जुन मावि बगलेखानका एक÷एक जना शिक्षकहरुलाई तालिम दिइएको हो ।
उनीहरुलाई आयुर्वेद र योगाभ्यासका बारेमा सिकाइएको कलौनीले बताए । तालिमपछि शिक्षकहरुले विद्यालयमा हप्ताको एक दिन योग कक्षा सञ्चालन गर्नुपर्ने उनले बताए ।
आयुर्वेद र योगको महत्वका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइ उनीहरुलाई योगाभ्यासमा सरीक गराउन शिक्षकहरुलाई तालिम दिइएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।
विद्यार्थीहरुलाई नैतिक र आचरणवान नागरिक बनाउन योग कक्षाको महत्व भएकाले योग कक्षा सञ्चालनको तयारी भएको नगर प्रमुख पुष्करराज जोशीले बताए । अहिले किशोरावस्थाका मानिसहरु समेत मानसिक समस्याबाट ग्रसित रहेकाले मानसिक समस्या हटाउन समेत योग कक्षाले सहयोग गर्ने उनले बताए ।