बैतडी- बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरासुन्दरी मन्दिर नजिक बदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ।
चितुवा फसेको जानकारी पाएपछि डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थल पुगेको थियो । हाल चितुवा पासोमै रहेको र उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोली बैतडीतर्फ आउँदै गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले जानकारी दिए।
“टोली आज साँझसम्म बैतडी पुग्नेछ, उद्धार प्रक्रिया भोलि मात्रै सुरु हुनेछ,” प्रमुख भट्टले बताए।
बैतडीमा बँदेल लगायतका जंगली जनावर नियन्त्रण गर्न थापिएको पासोमा चितुवा फस्ने घटना बढ्दै गएको वन कार्यालयले जनाएको छ। वन्यजन्तुको बढ्दो गतिविधिले मानव–वन्यजन्तु द्वन्द्वको समस्या थप उकासेको छ।
वन कार्यालयले यस्ता घटनाबाट चितुवालगायत अन्य वन्यजन्तुको सुरक्षामा जोखिम उत्पन्न हुने भएकाले स्थानीयलाई सतर्क रहन र वन्यजन्तु रोकथामका लागि सुरक्षित तरिका अपनाउन आग्रह गरेको छ।