बैतडी–बैतडीको शिवनाथ गाउँपालिकामा उत्पादन भएको ठूलो परिमाणको टमाटर बजारको अभावका कारण बारीमै कुहिने अवस्थामा पुगेको छ ।
शिवनाथ गाउँपालिका–३ मा रहेको रविन्द्र बहुउद्देश्यीय फर्मले उत्पादन गरेको मनिषा जातको अर्गानिक टमाटर बिक्री नहुँदा समस्या उत्पन्न भएको फर्मका संचालक धनबीरसिंह साउँदले बताए ।
शिक्षक समेत रहेका साउँदले भने, “प्लास्टिक टनेलभित्र उत्पादन गरिएको टमाटर बिक्रि नहुँदा करिब ३० क्विन्टल टमाटर बारीमै थन्किएको छ । बजारको अभावले उत्पादनको मेहनत खेर जाने देखिएको छ।”
बैतडीको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी महेशदत्त पाण्डेयका अनुसार पहाडी भेगमा व्यावसायिक रूपमा तरकारी उत्पादन गरेर पनि बजार अभावले किसानहरूलाई घाटा भइरहेको छ । टमाटर जस्तै अन्य तरकारी उत्पादनमा पनि यस्तै समस्या देखिएको छ ।
शिवनाथ गाउँपालिकाले सम्भावित बजार खोज्ने प्रयास जारी राखेको जनाएको छ । गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदका अनुसार, “उत्पादन उत्कृष्ट छ, तर बजार व्यवस्थापनमा चुनौती देखिएको छ । धनगढी, कैलाली, र डडेल्धुरा जस्ता स्थानहरूमा टमाटर पठाउन पहल गरिएको छ। तर भारतबाट सस्तो मूल्यमा आउने टमाटरले स्थानीय उत्पादनलाई असर पुर्याएको छ।“
गाउँपालिकाले मनिषा जातको टमाटरको उत्पादन बढाउन ८०% अनुदानमा बिउ र पोलिहाउस उपलब्ध गराएको थियो। कृषि अधिकृत ज्योति नायकका अनुसार, “शिवनाथमा टमाटर उत्पादनको राम्रो सम्भावना छ। तर उत्पादनले उचित बजार नपाउनु किसानहरूका लागि ठूलो समस्या बनेको छ।“
पाटन र मैलौली बजारमा टमाटरको मूल्य प्रति किलो रु. ५० देखि ८० रहेको छ । यद्यपि, उत्पादित टमाटर बारीबाट बजारसम्म पु¥याउन कठिनाइका कारण बिक्री हुन नसकेको हो ।
स्थानीय, प्रदेश, र संघीय सरकारको समन्वयमा उत्पादनलाई ठूला बजारसम्म पु¥याउने व्यवस्थापन गरिनुपर्छ । साथै, भारतबाट आउने सस्तो तरकारीले स्थानीय उत्पादनलाई प्रभाव पारेको अवस्थामा आयात नियन्त्रणका नीति पनि आवश्यक देखिएको छ ।
कृषि ज्ञान केन्द्र बैतडीले सबैलाई यस विषयमा सहयोग गर्न अपील गरेको छ । किसानहरूको मेहनतलाई बजारसम्म पु¥याउन र आर्थिक घाटा रोक्न सम्पूर्ण सरोकारवालाले साथ दिन आवश्यक छ । शिवनाथमा टमाटरको उत्पादनले व्यावसायिक कृषि सम्भावनालाई उजागर गरेको छ । तर, बजार व्यवस्थापनमा देखिएको समस्याले किसानहरूको भविष्यमाथि संकट ल्याउन सक्छ । समयमै सम्बोधन भए मात्र किसानहरूको परिश्रम खेर जाने छैन ।