Sagun Khabar
बैतडीमा पासोमा फसेको चितुवाको उद्धार

बैतडी-बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरासुन्दरी मन्दिर नजिक बँदेल नियन्त्रणका लागि थापिएको पासोमा फसेको चितुवाको सफल उद्धार गरिएको छ।

डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टका अनुसार, उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोली, डडेल्धुराबाट आएका पशु डक्टर, र डिभिजन वन कार्यालयका वन अधिकृत नरेश कर्णसहितको टोलीले संयुक्त रूपमा हिजो राति १२ बजे चितुवाको उद्धार  गरेको हो।

Atrya hospital

चितुवाको उमेर करिब ५ देखि ६ महिनाको रहेको अनुमान गरिएको छ। उद्धार पश्चात् अहिले चितुवालाई डिभिजन वन कार्यालय बैतडीमा राखेर उपचार गरिँदै छ। चितुवा पूर्ण रूपमा स्वस्थ भएपछि जिल्लाको ग्वाल्लेक क्षेत्रमा छोडिने योजना रहेको वन अधिकृत नरेश कर्णले जानकारी दिए।

बैतडीमा बँदेल लगायतका जंगली जनावर नियन्त्रण गर्न थापिएको पासोमा चितुवा फस्ने घटनाहरू बढ्दै गइरहेका छन्। यस्ता घटनाहरू वन्यजन्तुको सुरक्षाका लागि गम्भीर समस्या उत्पन्न गरिरहेकोले वन कार्यालयले स्थानीयलाई वन्यजन्तुको रोकथामका लागि सुरक्षित र वैकल्पिक तरिका अपनाउन आग्रह गरेको छ।

वन्यजन्तु र मानव बीचको द्वन्द्व घटाउन तत्काल प्रभावकारी कदम चाल्नु आवश्यक रहेको बताउँदै, स्थानीय सरकार र सम्बन्धित निकायले जनचेतना र संरक्षणका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने वन अधिकृत नरेश कर्णले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update