बैतडी–शहीद सप्ताहको अवसरमा आज शहीद दशरथ चन्दको स्मृतिमा काठमाडौँको विष्णुमती नदी किनार शोभा भगवतीमा पुष्पगुच्छा अर्पण गरी उहाँको योगदानको सम्झना गरिँदैछ ।
यही माघ १० गतेदेखि शुरू भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी किनार शोभा भगवतीमा शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पणसहित सम्झना गर्न लागिएको हो । दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको ठाउँमा स्तम्भ, अर्ध कदको सालिक र पूर्ण कदका सालिक राखिएका छन् ।
राणा शासनको विरुद्धमा काम गरेको र नागरिकलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।
हरेक वर्ष माघ १६ गते मनाइने शहीद दिवसले यस्ता बलिदानी व्यक्तिहरूको स्मरण गर्न र उहाँहरूको योगदानको कदर गर्न अवसर प्रदान गर्दछ । शहीद दशरथ चन्दको बलिदान सुदूरपश्चिमका जनताका लागि मात्र नभई, सम्पूर्ण नेपालको इतिहासका लागि अमूल्य सम्पत्ति मानिन्छ ।
शहीद दशरथ चन्द नेपालको प्रजातान्त्रिक आन्दोलनका महत्त्वपूर्ण क्रान्तिकारीमध्ये एक हुनुहुन्छ । वि.सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोट गाउँमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखबाट जन्मिएका थिए दशरथ । उहाँलाई “शहीद माइला” भनेर पनि चिनिन्छ ।दशरथ चन्दले बाल्यकालदेखि नै अन्यायविरुद्ध आवाज उठाउने साहस देखाउनुभएको थियो । प्रारम्भिक शिक्षा बैतडीमै पूरा गरेपछि उहाँले उच्च शिक्षाका लागि काठमाडौंको यात्रा गर्नुभयो । तर, राणा शासनको अन्यायपूर्ण शासन प्रणालीका कारण शिक्षाका माध्यमबाट परिवर्तन ल्याउन उहाँले ठूलो चुनौती सामना गर्नुभयो ।
राणाहरूको अत्याचार, अन्याय र शोषणको नजिकबाट अनुभव गरेका दशरथ चन्दले देशलाई निरंकुश शासनबाट मुक्त गराउने लक्ष्य लिएर क्रान्तिकारी अभियान सञ्चालन गर्नुभएको थियो । यस क्रममा उहाँ भारतको बनारसमा पनि पुग्नुभयो, जहाँ उहाँले प्रजातन्त्रवादी विचारधाराबारे थप ज्ञान हासिल गरेको कुरा जानकारिमा आउछ ।
शहीद दशरथ चन्दले आफ्ना साथीहरू गङ्गालाल श्रेष्ठलगायतका क्रान्तिकारीहरूसँग मिलेर जनतालाई स्वतन्त्रताका लागि जागरूक बनाउने अभियान सञ्चालन गर्नुभएको थियो । तर, राणाहरूले यस आन्दोलनलाई दबाउन खोजेका थिए ।
वि.सं. १९९७ माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई काठमाडौँको विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिईएको थियो । उहाँहरूको बलिदानले राणा शासनको क्रूरताबारे जनतामा जागरण ल्याउन मद्दत ग¥यो र प्रजातान्त्रिक आन्दोलनको आधारशीला थप बलियो बन्न पुग्यो ।
दशरथ चन्दको योगदानको सम्मानस्वरूप बैतडीको सदरमुकामलाई “दशरथचन्द नगरपालिका” नामाकरण गरिएको छ । साथै, उहाँको जन्मस्थान बस्कोटलाई शहीद भूमि मानिन्छ ।
यसरी, शहीद दशरथ चन्दको बलिदान र योगदान नेपाली समाजका लागि प्रेरणाको स्रोत बनेको छ । आज, शहीद सप्ताहका क्रममा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै हामी उहाँका महान् आदर्शहरूलाई आत्मसात् गर्न प्रतिबद्ध रहनुपर्दछ ।