Sagun Khabar
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन्छ : मन्त्री भण्डारी 

बैतडी–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । दशरथचन्द नगरपालिकास्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले शासकीय स्वरुपमा परिवर्तन ल्याउने गरेर संविधान संशोधन हुने स्पष्ट पारे । 

अहिले कुनै एक दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था नरहेको र यसले राजनीतिक अस्थिरता निम्त्याएको भन्दै मन्त्री भण्डारीले राजनीति स्थायित्वका लागि शासकीय स्वरुपमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । 

वर्तमान सरकार नागरिकका आधारभूत आवश्यकता पूर्ती गर्नेतर्फ क्रियाशील रहेको बताउँदै मन्त्री भण्डारी केही नीतिगत र कानुनी समस्याका कारण लगानीको वातावरण बन्न नसकेको दाबी गरे । लगानीको वातावरण सिर्जना गर्नकै लागि अध्यादेशमार्फत केही कानुनहरुमा संशोधन गरिएको उनले बताए । 

Atrya hospital

अध्यादेशमार्फत ल्याएका कानुनहरु माघ १८ गतेदेखि सञ्चालन हुने संसदको हिउँदे अधिवेशनले पारित गर्ने समेत उनले बताए । संसदमा विचाराधिन रहेका अन्य कानुनहरु पनि हिउँदे अधिवेशनले पारित गर्ने उनले दाबी गरे । सरकारले सदनलाई भरमार बिजनेस दिने मन्त्री भण्डारीको दाबी छ । उनले भने,‘सरकारले संसदको अधिवेशनमा भरमार बिजनेस दिन्छ । हामी संसदलाई फलदायी बनाउने दिशामा केन्द्रित रहेका छौं ।’

देशमा सुशासन, विकास र स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाएको दाबी गर्दै मन्त्री भण्डारीले नागरिकमा रहेका तमाम निराशाहरुलाई चिर्न सरकारले काम गरिरहेको बताए । 

अहिले अवस्थामा राजस्व संकलन कम भइरहेको भन्दै मन्त्री भण्डारीले राजस्व संकलन हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । आयात प्रतिस्थापन गर्ने, लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशी र विदेशी लगानी भित्र्याउने लगायतका काममा आफ्नो मन्त्रालयले काम गरिरहेको मन्त्री भण्डारीले बताए । 

एक अर्को प्रसंगमा भारतसंग सीमा जोडिएको झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि आवश्यक पहल भइरहेको बताए । महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि भारत सकारात्मक रहेको र काम अघि बढ्ने उनले बताए । यस्तै डडेल्धुराको शीर्षमा पनि महाकाली नदीमाथि मोटरेबल पुल निर्माण हुने उनले दाबी गरे । 

कञ्चनपुरको दोधरा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढेको बताउँदै मन्त्री भण्डारीले यसले यो क्षेत्रको विकासमा टेवा पुग्ने बताए । 

पहाडी क्षेत्रबाट भइरहेको बसाइँसराईले पहाड रित्तिने अवस्था आएकोले यसलाई रोक्ने हिसाबले सरकारी कार्यक्रम अघि बढाउने उनले बताए । आवश्यकताका आधारमा विकास गर्नुपर्ने कुरालाई सरकारले प्राथमिकतामा राखेको उनले बताए । 

राजनीतिक स्थायित्व नहुँदा सम्म विकास नहुने भएकाले राजनीतिक स्थायित्वका लागि सबै दलहरु क्रियाशील हुनुपर्ने मन्त्री भण्डारीले बताए । 

यस्तै उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पालले जिल्लामा रहेका तमाम समस्या समाधानका लागि प्रदेश सरकारले पहल गर्ने बताए । प्रदेश सरकारबाट सञ्चालन गर्न सकिने सबै कार्यक्रमहरु जिल्लामा सञ्चालन गर्ने उनले बताए । 

आगामी बर्षमा निङ्गलाशैनी भगवती मन्दिरका लागि बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता समेत जनाए । 

दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीको अध्यक्षतामा भएको राष्ट्रपति रनिङ शिल्ड उद्दघाटन कार्यक्रममा मन्त्रीका साथै प्रदेश सांसद जानकी ऐर बम, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विद्यालयका शिक्षक विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update